द सहाराको कारोबार ७ अर्बमाथि


मलंगवा ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेभिङ को–अपरेटिभ सोसाइटीको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत अर्थिक वर्ष २०८१÷८२ को अवधिमा ७ अर्ब ४० करोड ५३ लाख ५७ हजार रुपियाँको कुल कारोबार गरेको छ ।

जुन गत वर्षको भन्दा १ अर्ब ४९ करोड ८१ लाख ४८ हजार बढी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ५ अर्ब ५० करोड ५३ लाख २६ हजार रुपियाँ निक्षेप संकलन गरेको छ भने ३३ हजार ५४ जना सेयर सदस्यमार्फत ४४ करोड ५७ लाख, ४१ हजार रुपियाँ सेयर पुँजी संकलन गरेको छ ।

त्यस्तैगरी संस्थाले ५ अर्ब १८ करोड ८४ लाख रुपियाँ कर्जा लगानी गरेर १८ करोड २९ लाख रुपियाँ खुद मुनाफा गरेको संस्थाका महाप्रबन्धक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । संस्थाले जगेडा तथा अन्य कोषतर्फ ८१ करोड ६८ लाख रुपियाँ विनियोजन गरेको छ ।

संस्थाले यसवर्ष सेयर लाभांश कोषबाट कुल ११.२४ प्रतिशत बोनस सदस्यलाई वितरण गरेको महाप्रबन्धक चौधरीले जानकारी दिनुभयो । संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेशका बिनाविभागीय मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।