मधेसका अधिकांश पुल अलपत्र


काठमाडौं ।

मधेस प्रदेशअन्तर्गत रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा अलपत्र छन् । दुई जिल्ला जोड्नका लागि बागमती नदीमा दुईओटा पुल तोकिएको समयमा निर्माण नभई अलपत्र हुँदा स्थानीय वर्षौंदेखि जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्न बाध्य छन् । दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा, बारा, रौतहटलाई प्रदेश राजधानी जनकपुरलाई जोड्ने छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) जोड्ने सात सय मिटर लामो पुल अलपत्र छ । पुल निर्माणका लागि असार २०७३ मा टुण्डी—रसुवा—पप्पु संयुक्त उपक्रम (जेभी)सँग ८६ करोड ३७ लाख रुपियाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पछिल्लोपटक थपिएको ठेक्का समझौताको म्यादबमोजिम पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्षको असोजमा बागमती नदीमा आएको बाढीले पुलको एउटा स्पान र जग (फाउन्डेसन) बगाएको छ । पुलको निर्माण भौतिक प्रगति ८० प्रतिशत छ ।

हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकेपछि पुरानो ठेक्का तोडी वैशाख २०७९मा ६५ करोड १६ लाखमा नयाँ ठेक्का लगाइएको थियो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हाल निर्माण प्रगति २० प्रतिशत मात्र छ । ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भए तापनि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको छैन ।

त्यस्तै रौतहटको चपुरबाट उत्तरतर्फस्थित गैंडाटार चाँदी पुल १० वर्षदेखि निर्माण अलपत्र छ । मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान—चतरा—हैंटौडा सडक खण्डसँगसमेत जोड्नसमेत प्रयोग हुने पुल तीनपटक म्याद थपिए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न स्थानीयले अनशनलगायतका विभिन्न विरोधका कार्यक्रम गरेका थिए । पुल निर्माणको ठेक्का पप्पु—शिवशंकर जेभीले पाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिनुभयो ।