समाजको साधारण सभा सम्पन्न दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन


काठमाडौं ।

मर्दा र पर्दाका बेला आपसी सहयोग, सहकार्य र भातृत्व एकताको भावना विकास गर्ने उद्देश्यले स्थापना भएको गीतापाञ्चायन कल्याणकारी समाज कलंकी उत्तरी हाइटले आफ्नो तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारण सभाले सुरेन्द्रकुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।


नवगठित कार्य समितिको उपाध्यक्षमा विष्णु सापकोटा, सचिवमा दीपक रिजाल, कोषाध्यक्षमा प्रेम सुवेदी तथा सहसचिवमा सरिता थापालाई चयन गरिएको छ । यस्तै, कार्यसमितिका सदस्यहरूमा उत्तम स्याङतान, प्रतिमा पोखरेल र सरिता बुढाथोकी चयन भएका छन् ।

साधारण सभाको उद्घघाटन बागमती प्रदेशसभा सदस्य नुरज बज्राचार्यले गरेका थिए । उद्घघाटन मन्तव्यका क्रममा सांसद बज्राचार्यले गीतापाञ्चायन कल्याणकारी समाजले स्थापना कालदेखि नै सामाजिक सद्भाव, सहयोग र मानवीय सेवाको क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे । उनले समाजले गरेका र गर्दै आएका कार्यक्रमहरू अन्य सामाजिक संघसंस्थाका लागि पनि उदाहरणीय रहेकाले समाजको थप उन्नति र संस्थागत विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले समाजले विपद्, दुःख–सुख र सामाजिक संकटका बेला देखाएको सक्रियता समाजिक ऐक्यबद्धताको राम्रो नमुना भएको बताए । उनले यस्ता संस्थाहरूले राज्यको सामाजिक उत्तरदायित्व पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै समाजको कामलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउँदै लैजान सुझाव दिए ।

त्यसैगरी काठमाडौं महानगरपालिका–१४ का वडा अध्यक्ष सुमन श्रेष्ठले स्थानीय तहसँग समन्वय गर्दै समाजले सञ्चालन गरेका कल्याणकारी कार्यक्रमहरू प्रशंसनीय रहेको बताए । उनले स्थानीय सरकार सामाजिक संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको उल्लेख गर्दै गीतापाञ्चायन कल्याणकारी समाजसँग आगामी दिनमा पनि सहकार्य विस्तार गर्ने धारणा राखे ।

कार्यक्रममा गीता पाञ्चायन मन्दिर समाज सुधार संस्थाका अध्यक्ष सुरेश रायमाझीले समाजले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई जगेर्ना गर्दै समुदायमा एकता र सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले समाजले भविष्यमा पनि पारदर्शिता र समर्पणका साथ सामाजिक सेवा जारी राख्ने विश्वास व्यक्त गरे ।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत तथा अनुमोदन गरिएको थियो । साथै, आगामी कार्यकालका लागि समाजले सञ्चालन गर्ने सामाजिक सहयोग, आपत्कालीन राहत, धार्मिक–सांस्कृतिक संरक्षण तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार दाहालले समाजप्रति देखाइएको विश्वासका लागि सबै सदस्यहरूलाई धन्यवाद दिँदै सामूहिक प्रयास र सहभागिताबाट समाजलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले गीतापाञ्चायन कल्याणकारी समाजलाई उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गर्ने बताए ।