काठमाडौं ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३÷८४ का लागि संघीय समपूरक अनुदान र संघीय विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहसँग प्रस्ताव माग गरेको छ ।
आयोगले सूचना जारी गर्दै आगामी माघभित्र अनलाइनमार्फत आयोजनाको विस्तृत विवरणसहित प्रस्ताव पेस गर्न आग्रह गरेको छ । प्रस्ताव पेस गर्दा ‘समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ र ‘विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ मा तोकिएका सबै सर्त र प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने आयोगले जनाएको छ । साथै सम्बन्धित जिम्मेवार पदाधिकारीले सर्त पूरा भएको प्रमाणीकरण फाराम अनिवार्य रूपमा भरी पेस गर्नुपर्नेछ ।
प्रदेशको हकमा प्रस्तावसँगै सम्बन्धित प्रदेश नीति तथा योजना आयोगको सिफारिस र प्रदेश मन्त्रिपरिषद्को निर्णय अनिवार्य संलग्न गर्नुपर्नेछ । त्यस्तै स्थानीय तहहरूले आयोजनाको प्राथमिकीकरणसहितको कार्यपालिका निर्णय पेस गर्नुपर्ने प्रावधान रहेको छ । आयोगले यसअघिका वर्षमा अनुदान प्राप्त गरी कार्यान्वयनमा रहेका तर सम्पन्न हुन बाँकी क्रमागत आयोजनालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ । यस्ता आयोजनाका लागि सम्बन्धित कार्यविधिमा उल्लेखित व्यवस्थाअनुसार प्रस्ताव पेस गर्नुपर्नेछ ।











प्रतिक्रिया