काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्नै प्रतिबद्धताविपरीत शुक्रबार चार जना मन्त्री थप्नुभएको छ । शुक्रबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्कीले क्याबिनेटको सदस्य संख्या १४ पु¥याएउनुभएको हो ।
यसअघि उहाँले पटक–पटक सार्वजनिक कार्यक्रममा आफ्नो मन्त्रिपरिषद् १२ सदस्यभन्दा ठूलो नहुने र विज्ञहरूलाई मात्र मन्त्री बनाइने दाबी गर्नुभएको थियो । तर उहाँले विनाविज्ञता मनलाग्दी रुपमा मन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा कुमार इङ्नाम नियुक्त हुनुभएको हो । उहाँहरुले शुक्रबार नै मन्त्रालयमा पुगेर पदबभार ग्रहण गर्नुभएको छ ।
सरकार विस्तारको यो कदमले जेनजी अभियन्ताहरूलाई असन्तुष्ट बनेका छन् । उनीहरूले प्रधानमन्त्री कार्की मनमौजी ढङ्गले अघि बढेको र आन्दोलनको धरातल बिर्सिएको आरोप लगाएका छन् । जेनजी अभियन्ता मोनिका निरौलाले मन्त्री छनोट प्रक्रियामा आफूहरूको सुझावलाई लत्याइएको बताउनुभयो । ‘हामीले सुरुदेखि नै गैरदलीय विज्ञ नियुक्त गर्दा बन्द सूचीबाट होइन, ‘ओपन रिक्रुटमेन्ट’ अर्थात् खुला प्रतिस्पर्धाको प्रक्रिया अपनाउनुपर्छ भनेका थियौँ,’ उहाँले भन्नुभयो– ‘आखिर गैरदलीय छान्ने हो भने किन बन्द लिस्टबाट ? खुला, प्रतिस्पर्धात्मक र समावेशी फ्रेमवर्क बनाएर छान्नुपर्छ भन्ने हाम्रो प्रस्ताव थियो, तर त्यो अल्पमतमा प¥यो ।’
अर्का अभियन्ता सौगात विश्वकर्माले सरकारको नियुक्ति प्रक्रियाले जो–कोही पनि मन्त्री हुन सक्ने जस्तो अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो । ‘सुरुमा केही साथीहरूले प्रधानमन्त्रीलाई ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्’ भनेर छुट दिनुभयो, तर अहिले नियुक्ति प्रक्रिया देखेर उहाँहरू पनि सन्तुष्ट हुनुहुन्न’ –विश्वकर्माले भन्नुभयो ।
जेनजी युनाइटेड मुभमेन्ट फर चेन्जले मन्त्रिपरिषद् विस्तारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । ‘प्रधानमन्त्री आफ्नै ढङ्गले अगाडि बढ्नुभएको छ । सरकार जेनजीको भनिएको छ तर जेनजीलाई पूरै बेवास्ता गरिएको छ,’ अभियन्ता ज्योतिका फुर्केली भन्नुभयो– ‘मनलाग्दी रूपमा मन्त्रिपरिषद् बनाइएको छ । जेनजीले नै नचिनेको मान्छे सरकारमा ल्याइएको छ । खै कसको पो स्वार्थमा ल्याएको हो ?’
प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी एक जेनजी अभियन्ताले भने– ‘उहाँलाई को मन प¥यो, कसको कहाँ सेटिङ भयो, उही मन्त्री भइहाल्यो । के सोचेर आन्दोलन गरेका थियौँ, अहिले के भइरहेको छ ! यो सरकार पनि तजबिजी ढङ्गले अगाडि बढ्न खोज्दै छ ।’ चुनावको तयारीमा जुट्नुपर्ने सरकार मन्त्रिपरिषद् विस्तारको किचलोमा फस्दा प्रधानमन्त्री कार्की र उनलाई सत्तामा पु¥याउने जेनजी आन्दोलनबिचको दूरी बढ्दै गएको टिप्पणी हुन थालेको छ ।











प्रतिक्रिया