काठमाडौं ।
नेकपा एमालेको ११आंै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने गरी तयारी अन्तिम चरणमा पुगेको एमाले नेताहरूले बताएका छन् । एमाले नेताहरूले महाधिवेशनमा भाग लिन देशभरबाट ३ लाख नेता कार्यकर्ता काठमाडौं आउने दाबी गरेका छन् ।
अधिवेशनको उद्घाटन आज शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष प्रविधियुक्त प्रणालीमार्फत गर्नुहुने बताइएको छ । ‘मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता आउनु हुन्छ,’–भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले भन्नुभयो । उहाँका अनुसार भक्तपुरबाट मात्र २० हजार बढी संख्यामा मानिस सभामा आउने छन् ।
चौरमा १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधिमैत्री हुने छ । मञ्च बनाउने काम सम्पन्न भइसकेको छ । मञ्च झकिझाउ बनाउँदै काठमाडौंको सभ्यतालाई समेटिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठका अनुसार उद्घाटनमा अहिलेसम्म १० वटा महाधिवेशन भएकाले वरिपरि १० वटा झण्डा र बीचमा ११ औंको झण्डा राखिने छ ।
११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्घाटन गरिने छ । यसपटक सर्वसाधरणको सवारीमा समस्या नहुने गरी व्यवस्थापन गरिएको एमालेले जनाएको छ । महाधिवेशनमा आएका गाडीहरू जगते र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
शनिवार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने योजना एमालेको छ । देशभरबाट कार्यकर्ताहरू आउने क्रम जारी छ । सो महाधिवेशनले एमालेमा नयाँ नेतृत्व चयन गर्ने छ ।











प्रतिक्रिया