भिजिट भिसा अनियमितता प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।

भट्टराई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ पर्नुभएको थियो । त्यतिबेला उहाँ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हुनुहुन्थ्यो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार घुस रिसवत मुद्दामा ७ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ ।

तत्कालीन अध्यागमन कार्यालय प्रमुख भट्टराईलाई ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्याललाई ८ लाख, ग्रीनलाइन ट्राभल्स् एन्ट टुरका सञ्चालक बालकृष्ण खड्का र राम खड्कालाई जनही ३० लाख २० हजार बिगो दाबी गरिएको छ ।
त्यसै गरी बानेश्वरस्थित सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार रुपियाँ, फ्यामिली होलिडेज ट्राभल्स एन्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रुपियाँ बिगो मागदाबी गरिएको छ । सूचना अधिकारी रेग्मीका अनुसार माथिका ती दुई कम्पनीलाई पनि आयोगले प्रतिवादी बनाएर मुद्दा पेस गरेको छ ।

तत्कालीन गृृहमन्त्री लेखक र सचिवमाथि छानबिन जारी
अख्तियारले भिजिट भिसामा सेटिङ गरी घुस लिएको आरोपमा पहिलो चरणमा ७ जनाविरुद्ध मात्रै मुद्दा दायर गरे पनि उच्च पदस्थको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

अख्तियारले तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले अभियोग पत्रमै उल्लेख गरेको छ ।

प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर (कल डिटेल रिपोर्ट) विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको अख्तियारको दाबी छ ।