मर्स्याङ्दीमा कलाकार बाबु साइँलाको तेस्रो एकल कला प्रदर्शनी 

564
Shares

लमजुङ। 

लमजुङको मर्स्याङदी गाउँपालिकामा कलाकार बाबु साइला (भीम सुब्बा तामाङ) को तेस्रो एकल कला प्रदर्शनी भएको छ । उनको जन्म र सिर्जनाको थलो नै भएको पालिकाको सभाहलमा बिहीबार आयोजित प्रदर्शनीमा पहाडी भू–दृश्यदेखि स्थानीय संस्कृतिको जीवन्त छायांकन झल्किने दर्जनौँ कला कृतिहरु प्रस्तुत गरिएका थिए ।

प्रदर्शनीमा हिमाल शृंखला, पुराना मठमन्दिर, खोला र झरनाका दृश्य, गाउँघरको दैनिकी, चौरीले भारी बोकेर हिँडिरहेको पहाडी जीवनका झल्को, साथै लमजुङका पहिचान बोकेका थुप्रै स्थानका दृश्यलाई क्यानभासमा उतारिएका पेन्टिङहरु राखिएका थिए । उपस्थित दर्शकले सबै चित्रमा लेखकको मेहनत, दृष्टि र मौलिकता सहजै महसुस गरेका थिए । 

कार्यक्रम पालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष गुरुङले स्थानीय कलाकारको सिर्जनालाई प्रोत्साहन गर्न पालिका निरन्तर लागिरहेको उल्लेख गर्दै कला जोगाउने र नयाँ पुस्तामा सिर्जनात्मक भावना थप जागृत गर्ने काम यस प्रकारका कार्यक्रमले गर्ने बताए । बाबु साइँलाको मेहनत र निरन्तरताले पालिकाको नाम कला क्षेत्रमा चिनाइरहेको पनि गुरुङले उल्लेख गरे ।

मर्स्याङदी भगाउँपालिकाको आयोजनामा नेपाल ललितकला मञ्च दक्षिण कोरियाको सहयोगमा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीदेखि स्थानीय सरोकारवाला, कला रुचि राख्ने नागरिकको उल्लेख्य उपस्थिति थियो । क्यानभासमा उतारिएका दृश्य हेर्दै विद्यार्थीहरुले कलाकारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाए ।

कला प्रेमी बाबु साइँलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम माया घिसिङले सञ्चालन गरेकी थिइन् ।  कार्यक्रमले स्थानीय कला क्षेत्रमा नयाँ ऊर्जा भरिदिएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरे ।