लमजुङ।
लमजुङमा अनलाइनमार्फत हुने ठगीका घटना निरन्तर बढिरहेका छन् । प्रविधिको सहज पहुँच र सतर्कताको कमीका कारण पछिल्लो समय डिजिटल माध्यम प्रयोग गर्ने धेरै व्यक्ति ठगीमा परेको लमजुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षयता अनलाइन ठगीसम्बन्धी ३६ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये गत आर्थिक वर्षमा २७ उजुरी परेका थिए भने चालू आर्थिक वर्षका तीन महिनामा नौ जनाले ठगिएको भन्दै प्रहरीसमक्ष गुनासो गरेका छन् ।
पीडितहरुले सामाजिक संजालमार्फत चिठ्ठा परेको भन्दै गरिएको ठगी, पार्सलका नाममा रकम असुली, मोबाइल किनबेचमा ठगी, फेसबुक, ह्वाट्सएप, भाइबर तथा इमेल ह्याक गरेर गरिएको ठगी, ई–सेवा वा ओटीपी कोड लिएर गरिने ठगीजस्ता घटनामा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रनाउ बोहराका अनुसार अनलाइन सेवाको प्रयोग बढे पनि अधिकांश उपभोक्ता सतर्क नहुँदा अपराधीका लागि मौका मिलिरहेको छ । सामाजिक संजालमा पठाइने अञ्जान लिंक, नक्कली भ्वाइस कल, चिठ्ठा परेको दाबी, बैंक तथा वालेटको ओटीपी माग्ने जस्ता उपायमार्फत धेरै मानिस ठगीमा परेको उनको भनाई छ।
बैंक कारोबारमा समेत अनलाइन दुरुपयोग बढ्दै गएको प्रहरीको भनाई छ । कसैको कागजात प्रयोग गरेर बैंक खाता अनलाइन मार्फत संचालन गर्ने, मोबाइल वालेटमा दर्ता गरिएको नम्बर हत्याएर रकम अन्य खातामा सार्ने घटनाहरु पनि बढेका छन् ।
यस्तै, विदेशी नागरिकको नाममा सामाजिक संजालमा फ्रेन्ड रिक्वेस्ट पठाई सम्बन्ध बलियो बनाउने, महँगो सामानको फोटो देखाएर लोभ देखाउने र भन्सार शुल्कका नाममा रकम पठाउन लगाइने जस्ता प्रविधिमैत्री ठगीका शैलीहरु सामान्यजस्तै भइसकेका छन् ।
यस्ता घटना रोक्न सबैभन्दा पहिले प्रयोगकर्ताहरु स्वयं सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । मोबाइल सेवा प्रदायकहरुले पनि एक व्यक्तिको नाममा दर्ता गरिने सिम कार्ड उपलब्ध गराउँदा पुरानो नम्बरमा पुनः कागजात परीक्षण गर्ने व्यवस्था मजबुत गरिएमा अनलाइन अपराध घट्न सक्ने सरोकारवालाहरुको धारणा छ।











प्रतिक्रिया