नेपाल प्रिमियर लिग २: विदेशी खेलाडीहरूको उत्साहजनक आगमनले तरंगित नेपाली क्रिकेट

1.69k
Shares

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय लेख्न थालेको छ । पहिलो संस्करणको धूलो झार्दै, यस वर्षको एनपीएलमा विदेशी खेलाडीहरूको आगमनले क्रिकेटको रोमाञ्चक संसारलाई अझ गहिरो बनाएको छ । विश्वकप जितेका स्टार खेलाडीदेखि, फ्रेन्चाइज क्रिकेटका महँगा र चर्चित नामहरू सबैलाई एकत्रित गरेर एनपीएलले अबको क्रिकेटको भविष्यप्रति उत्साह थपेको छ ।

अन्तर्राष्ट्रिय स्टारहरूको चमक

यो संस्करणमा झन्डै तीन दर्जनभन्दा बढी विदेशी खेलाडी विभिन्न टिमसँग आबद्ध भएका छन् । जसले प्रतियोगितालाई एउटा नयाँ उँचाइमा पु¥याएको छ । त्यसमध्ये अमेरिका, अस्ट्रेलिया र इंग्ल्यान्डबाट पाँच–पाँच खेलाडी सहभागी छन् भने स्कटल्यान्ड र दक्षिण अफ्रिकाबाट तीन–तीन खेलाडी र न्युजिल्यान्ड, पाकिस्तानबाट समान एक–एक खेलाडी टिममा देखिनेछन् । आधिकारिक कोटा अनुसार, प्रत्येक टिमले अधिकतम ६ विदेशी खेलाडी राख्न सक्नेछ । सोही नियमअनुसार काठमाडौं र विराटनगरले आफ्नो विदेशी खेलाडी कोटा पूरा गरिसकेका छन् । यद्यपि, यस संस्करणको वजनदार नाममध्येका एक हुन दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस, जसले विराटनगर किंग्ससँग हात मिलाएका छन् ।

त्यसैगरी, दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेल जनकपुरको टिममा अनुबन्ध भएका छन् । अस्ट्रेलियाका क्रिस लिन र डार्सी सर्ट पनि मैदानमा आक्रमण गर्ने तयारीमा छन् । इंग्ल्यान्डका डाविड मलान र रवि बोपारा पनि आफ्नो कौशल देखाउन नेपाल आइपुगेका छन् । पाकिस्तानका सोहेल तन्भिर, अफगानिस्तानका गुल्वादिन नैव र न्युजिल्यान्डका स्टार क्रिकेटर मार्टिन गुप्टिल पनि विराटनगरको जर्सीमा मैदानमा प्रस्तुत हुनेछन् । गुप्टिल, जसले सन २०१५ को विश्वकपमा व्यक्तिगत दुई सय ६७ रन बनाएको ऐतिहासिक कीर्तिमान राखेका छन्, अब एनपीएलमा आफ्नो खेलको नया अध्याय रच्नेछन् ।

नेपाली खेलाडीको मूल्य र प्रतिस्पर्धा

नेपालका घरेलु खेलाडीहरूलाई पनि एनपीएल क्लबले ठूलो मूल्य तिरेको छ । नेपाली खेलाडीहरूको मूल्य यस वर्ष उच्च रहेको छ । मार्की खेलाडीहरूले २० लाखसम्मको रकम पाएका छन् भने ‘ए’ श्रेणीका खेलाडीले १० देखि १५ लाखसम्म पाएका छन् । ‘बी’ श्रेणीका खेलाडीहरूले ५ देखि १० लाखसम्म र ‘सी’ श्रेणीका खेलाडीहरूले २ देखि ५ लाखसम्म प्राप्त गरेका छन् । यसरी कुल ६ देखि ७ करोड रुपैयाँ नेपाली खेलाडी अनुबन्धनका लागि खर्च गरिएको छ । जसले प्रतियोगितालाई अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको छ ।

एनपीएलको दोस्रो संस्करणमा ८ वटा टिम छन् र प्रत्येक टिमको फ्रेन्चाइज खरिदमा मालिकहरूले कुल १७ करोड रुपैयाँको हाराहारीमा लगानी गरेका छन् । पहिलो संस्करणमा भने कर्पोरेट क्षेत्रका व्यवसायीहरूले १ देखि ३ करोडसम्म लगानी गरेका थिए । यस वर्ष पोखरा एभेन्जर्सले ३ करोड ५७ लाख रुपैयाँमा आफ्नो फ्रेन्चाइज खरिद गरेको छ । जुन इतिहासको सबैभन्दा ठूलो रकम हो । काठमाडौं गोर्खाजको मूल्य ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ रहेको छ । त्यसैगरी, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र चितवन राइनोजले पनि आकर्षक रकममा फ्रेन्चाइज खरिद गरेका छन्, जसले प्रिमियर लिगको आर्थिक पक्षलाई थप मजबुत बनाएको छ ।

फ्लड लाइटमुनि खेल र दर्शक व्यवस्थापन

यस संस्करणको अर्को ठूलो आकर्षण भनेको फ्लड लाइट मुनि खेलाइने म्याच हो । यसले रात्रिकालीन समयमा पनि क्रिकेटप्रेमीहरूलाई मैदानमा उपस्थित गराउने र खेलको रोमान्चकतालाई बढाउने काम गर्नेछ । आयोजकहरूले यस संस्करणमा टिभी, ग्राफिक्स र कमेन्टेटरहरूको व्यवस्थापनलाई पनि प्राथमिकता दिएका छन् ।

नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात

एनपीएलको दोस्रो संस्करणले नेपाली क्रिकेटलाई एउटा नयाँ दिशा दिएको छ । आयोजकहरूको मानेमा यसले नेपाली युवालाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रत्यक्ष रुपमा सिक्ने अवसर पनि प्रदान गर्नेछ । यस संस्करणको सफलता र विदेशी खेलाडीहरूको उत्साहजनक आगमनले आगामी वर्षहरूमा थप चुनौती र अवसरहरू ल्याउनेछन् । आगामी वर्षदेखि आइसिसीका नयाँ नियमअनुसार टेस्ट क्रिकेट खेल्ने खेलाडीहरूको संख्या पनि बढ्न सक्छ । जसले भविष्यमा एनपीएललाई अझ शक्तिशाली र प्रतिस्पर्धात्मक बनाउनेछ । नेपालमा क्रिकेटको यो उत्साह र प्रतिस्पर्धाले नेपालका खेलप्रेमीहरूलाई एकजुट गरेको छ । एनपीएल–२ मा खेल्ने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले के–कस्तो प्रदर्शन गर्छन् र नेपाली क्रिकेटले कुन उँचाइ प्राप्त गर्लान त भनेर मात्र अब मैदानमा हेर्न बाँकी छ ।