बगरमा बसेका अस्थायी बस्ती सुरक्षित स्थानमा स्थानान्तरण


रौतहट ।

बृन्दावन नगरपालिका–१ भोटियाघाटस्थित बागमती नदीको बगर क्षेत्रमा बसोबास गर्दै आएका अस्थायी बस्तीका परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन्।

उनीहरू बागमती नदीको दुई तर्फबाट बगेको बीचको टापुमा बस्दै आएका थिए।

जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशभरि अति भारी वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय, रौतहट र स्थानीय निकायको संयोजनमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गरिएको थियो।

सोही क्रममा जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका १२८ घरधुरीमध्ये असोज १७ गते ४५ घरधुरी र असोज १८ गते थप ७८ घरधुरीलाई सुरक्षित स्थान — बृन्दावन नगरपालिका–४ हर्दिया पल्टुवा र भोटिया टोलस्थित पुराना बस्तीहरूमा स्थानान्तरण गरिएको छ। बाँकी ५ घरधुरी शनिबार फर्केको जनाइएको छ।

स्थानान्तरण कार्यका क्रममा सुरक्षा बेस सन्तपुर र सुरक्षा बेस समनपुरबाट खटिएका सुरक्षाकर्मीहरूको टोली सक्रिय रहेको थियो। हाल सबै स्थानान्तरण गरिएका परिवारहरू सुरक्षित अवस्थामा रहेको जिल्ला प्रशासनले जनाएको छ।