दार्चुला पावरले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्यो


काठमाडौँ
दार्चुला पावर लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले १०० रुपियाँ अंकित मूल्यको कुल ३० लाख कित्ता साधारण शेयर सार्वजनिकमा बिक्री गर्ने योजना बनाएको छ । जुन कम्पनीको कुल जारी पूँजीको २० प्रतिशत हुनेछ ।

यस सम्बन्धमा दार्चुला पावरका अध्यक्ष सतीश न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीबीच शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौताले दार्चुला पावरको आगामी आईपीओ प्रक्रियाको औपचारिक सुरुवातलाई जनाउँछ ।

दार्चुला पावरले हाल दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो परियोजना निर्माणाधीन अवस्थामा रहेको छ भने कम्पनीले आगामी डेढ वर्षभित्र यसको निर्माण कार्य पूरा गरी राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने लक्ष्य राखेको छ ।

यस आयोजनाको प्रमुख प्रवद्र्धक अपिपा पावर कम्पनी लिमिटेड हो । जुन नेपालको ऊर्जा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । अपिपा पावरले दार्चुला पावरमा प्रमुख शेयर धनीको रूपमा लगानी गरेको छ ।

मुक्तिनाथ क्यापिटलले छिट्टै नै प्रतिभूति बोर्डमा यस आईपीओको ड्राफ्ट प्रोस्पेक्टस पेश गर्ने तयारी गरिरहेको छ । विश्लेषकको अनुमानअनुसार यस आईपीओले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी बढाउने मात्र नभएर दार्चुला क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने देखिन्छ । यसले जलविद्युत क्षेत्रमा नयाँ लगानीका अवसर सृजना गर्ने अपेक्षा छ ।