काठमाडौँ।
नेपालले बंगलादेशमा भएको साफ यु २० महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्न सकेन ।
सोमबार सम्पन्न अन्तिम खेलमा नेपाल आयोजक टोली बंगलादेशसँग ४–० ले हारेको हो । जसमा, बंगलादेशका लागि सागोरिका एक्लैले चारै गोल गरिन् । यो नतिजापछि बंगलादेशले सबै ६ खेल जितेर उपाधि जित्यो भने नेपालले चार जितसहित दोस्रो स्थानमै चित्त बुझाउनु प¥यो ।
नेपालले पहिलो हाफमा एक गोल मात्रै बेहोरेको थियो । तर, दोस्रो हाफमा भने ३ गोल आत्मसात गरेको थियो । ७७ औं मिनेटसम्म पुग्दा ४–० ले पछि पर्दा नेपालको लागि खेलमा फर्कने कुनै गुञ्जाइस नै भएन । जबकी नेपालले बंगलादेशविरुद्धको पहिलो खेलमा २–० ले पछि परेपनि दुई गोल फर्काएर कमब्याक गरेको थियो ।
यस्तै, चार टोली सहभागि डबल राउन्डको प्रतियोगितामा भुटान तेस्रो भयो भने श्रीलंका पुछारमा रह्यो । भुटानले दुबै जित श्रीलंकाविरुद्ध हासिल गरको थियो । श्रीलंका भने सबै ६ खेल हारेर अंकविहीन भएको थियो । श्रीलंकाले यस प्रतियोगितामा कूल ३८ गोल आत्मसात गर्दा विपक्षीविरुद्ध एक गोल मात्रै गरेको थियो ।
सागोरिका तगारो बनिन्
तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएकी सागोरिकाले नेपालको डिफेन्सलाई तहसनहस नै बनाइन् । उनले आठौं मिनेटमा गोल गरेर नेपाललाई १–० ले पछि पारेकी थिइन् । सपनाको थ्रो पासमा अफसाइड ट्रयाप बिट गर्दै उनले गोलको श्रीगणेश गरिन् । त्यसो त नेपालकी चार खेलाडी पोस्टतिर दौडेपनि बलले गोललाइन् पार गर्नबाट बचाउन सकेनन् ।
१९औं मिनेटमा भने नेपालले बराबरी गोल गर्न निकै निकट पुगिसकेको थियो । विपक्षीकी गोलकीपरले राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई पूर्णिमा राईले प्रहार गरेकी थिइन् । तर, उनको प्रहार पोलमा लागेर फर्केको थियो ।
सागोरिकाले दोस्रो हाफमा तीन गोल थपेर नेपाली टोलीको खेलमा फर्कने सबै आस समाप्त पारेकी थिइन् । उनले खेलको ५१ औं उमेला मर्माको पासमा सहजै गोल गरेकी थिइन् । सागोरिकाले सुन्दर ‘टर्न’ गर्दै सेन्टर ब्याक सिम्रन राईलाई बिट गरिन् । त्यसपछि वान भर्सेस वानमा गोल गरेकी थिइन् ।
यसको सात मिनेटपछि सागोरिकाले ह्याट्रिक पूरा गरिन् । उनले लेफ्ट ब्याक मोसम्मत जोयनोब बिबी रिताको लामो पासलाई सदुपयोग गरेकी थिइन् । अनिशाले उनलाई रोक्ने प्रयास भरसक गरिन् तर, सागोरिकाले उनलाई बिट गरेर गोल गरेकी थिइन् । उनले ७७औं मिनेटमा ‘अफसाइड ट्रयाप’ बिट गरेर अर्को गोल थपेकी थिइन् ।
नेपालको नतिजा
भुटानविरुद्ध ६–१ को जित (पूर्णिमा राईको ह्याट्रिक)
बंगलादेशविरुद्ध २–३ को हार
श्रीलंकाविरुद्ध ७–० को जित (मीना देउवाको ह्याट्रिक)
श्रीलंकाविरुद्ध ७–० को जित
भुटानविरुद्ध ८–० को जित (पूर्णिमा र मीनाको ह्याट्रिक)
बंगलादेशविरुद्ध ०–४ को हार
३ सर्वाधिक गोलकर्ता
१० गोल पूर्णिमा राई (नेपाल)
८ गोल सागोरिका (बंगलादेश)
७ गोल मीना देउबा (नेपाल)
केही तथ्यहरुः
–बंगलादेश यस उमेर समूहको साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता टोली हो । बंगलादेशले यस प्रतियोगिता ५ पटक जितेको छ ।
–दोस्रो सर्वाधिक जित्ने टोली भारत हो । भारतले दुई पटक उपाधि जितेको छ । यसपटक भने भारतीय टोलीको सहभागिता रहेन ।
-नेपाल यस प्रतियोगितामा तीन पटक (२०१८, २०२३ र २०२५) उपविजेतामा रहेको छ ।
-यस प्रतियोगिता सन् २०१८ देखि शुरु भएको थियो । त्यतिबेला पहिलो संस्करण भुटानमा हुँदा यो १८ वर्ष मुनिको प्रतियोगिता थियो । यस पहिलो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले हराएर उपाधि जितेको थियो ।
-यसपछि दोस्रो संस्करण (२०२१) १९ वर्ष मुनिको प्रतियोगिताको रूपमा संचालन गरियो भने तेस्रो संस्करण (२०२२) फेरि १८ वर्ष मुनिको प्रतियोगिताको रूपमा आयोजना गरिएको थियो ।
-चौथो संस्करण (२०२३) २० वर्ष मुनिको रुपमा आयोजना भएपनि फेरि पाँचौं संस्करण (२०२४)ं १९ वर्ष मुनिको रूपमा प्रतियोगिता आयोजना गरिएको थियो ।
-यसपटक फेरि २० वर्ष मुनिको रूपमा प्रतियोगिता आयोजना भएको हो ।











प्रतिक्रिया