दुई वर्ष पहिल्यै पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको थियो : उपाध्यक्ष पाण्डे


काठमाडौँ।

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रिय कायालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पाण्डेले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नविकरण भइसकेको बताउनुभएको पनि बताए । पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताउनुभएको जानकारी दिए ।

उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नविकरण गरेँ भन्नुभएको छ । १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो । अध्यक्षज्युले पनि यसमा सहमति गर्नुभएको थियो ।’