ब्रिटिश गायिका, अभिनेत्री तथा फेसन आइकन जेन बिर्किनको नाममा फ्रान्सेली लक्जरी ब्रान्ड हर्मसले सन् १९८४ मा पहिलोपटक सार्वजनिक गरेको जेन बिर्किन ब्याग संसारकै महंगो ब्याग सावित भएको छ।
सन् १९६० र ७० को दशकमा आफ्नो सौन्दर्य, स्टाइल र स्वाभाविक अभिनयका कारण चर्चित जेनले प्रयोग गरेको ब्याग हालै फ्रान्सको पेरिसमा आयोजित लिलामीमा ८.६ मिलियन युरो अर्थात करिब १०.१ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ। जुन करीब एक अर्ब ३७ करोड नेपाली रुपियाँ हुन आउँछ। यो मूल्यमा कुनै पनि व्याग कहिल्यै बिक्री भएको थिएन।

लीलामी आयोजक संस्था सोथेबिजद्वारा हालै आयोजित ९ ग्राहकबीच १० मिनेटको कडा लीलामी प्रतिस्पर्धापछि अन्ततः सो ब्याग सर्वाधिक मूल्यमा बिक्री भएको हो। १ मिलियनबाट शुरू भएर ७ मिलियन युरोसम्म लिलामी मूल्य पुगेको सो झोला अन्तशुल्कसहित ८.५८२ मिलियनमा एक जापानी निजी संग्रहकर्ताले खरिद गरेका हुन्। जसले फोनमार्फत आफ्नो मूल्य लगाएका थिए।
कालो रङको सो ब्याग डिजाइनर ब्याग कम्पनी हर्मेसले सन् १९८४ मा जेनका लागि विशेष रूपमा बनाएको थियो। सो ब्यागमा अझै पनि उनका व्यक्तिगत सिग्नेचरका रुपमा झुण्डिएका स–साना गहना, कलम, नेल कटर र उनले प्रयोगका गरेका अन्य सामग्री देखिन्छन्। ठाउंठाउंमा कोतरिएको र रङ बदलिएको सो झोला कुनै संग्रहणीय वस्तु मात्र नभई फेशन, जीवनशैली, इतिहास, कला र नारीवादी शक्तिको अमूल्य उदाहरण बनेको छ।
संसारकै सबैभन्दा प्रसिद्ध, लक्जरी र महंगा ब्यागमध्ये एक जेबी ब्यागको उत्पत्तिको कथा निकै रोचक छ। एकपटक विमान यात्राका क्रममा जेन र ब्याग कम्पनी हर्मेसका तत्कालीन प्रमुखबीच आमनेसोमने भयो। सो भेटमा जेनले आफूजस्ता योङ मदरका लागि बच्चाको दुधको बोतलदेखि दैनिकरुपमा आवश्यक सामान अट्ने ठिक्क खालको ब्याग नभएका बारे गुनासो गरिन्। उनले ब्यागको स्केच समेत बनाएर त्यस्ता खालको ब्याग बने महिला, विशेष गरि बच्चाका आमाका लागि निकै उपयुक्त हुने सुझाव दिईन्। कम्पनीका प्रमूखले उनको सूझावलाई मनन गर्दै दुई वर्षपछि जेनलाई भेटेर सो ब्याग उपहार दिए र ब्यागको नाम बिर्कीनको नामबाट राख्ने पनि सुनाए।

त्यति महंगो ब्याग उपहार पाएकी जेन बिर्किनले पक्कै पनि लाखौं मूल्यका अन्य ब्याग बोक्ने गरेको हुनुपर्ने हो। तर त्यसो होइन्, जेनले लण्डनको साधारण पसलमा किनेको हातले बुनेका बास्केटलाई ब्यागको रुपमा प्रयोग गर्थिन्। किनभने सबै सामान बोकेर हि“ड्न सुटकेस निकै ठूलो र अव्यवहारिक हुन्थ्यो भने अन्य डिजाइनर ब्याग सबै सामान अट्ने खालको हुँदैनथ्यो। त्यसैले उनले बास्केटलाई नै ब्यागको रुप दिएपछि सो बास्केट पनि निकै चर्चित भयो भने फेसनकै रुपमा विकसित भयो। बिर्किनले सो झोलाबाट आफूलाई हुने नाफा सामाजिक सेवामा लगाउने शर्तमा यसको प्रयोगलाई समर्थन दिएकी थिइन्। उनले उपहारस्वरुप प्राप्त गरेको ब्याग लगातार १० वर्षसम्म प्रयोग गरिन्।
एजेन्सीका अनुसार उत्कृष्ट छालाबाट तयार गरिएको बिर्किन ब्याग निर्माणका लागि १८ देखि २५ घण्टा लाग्छ। विशेषगरी दुर्लभ छाला वा गहनाजडित गरिएका यस कम्पनीको ब्यागको मूल्य हजारौेंदेखि लाखौ डलरसम्म पनि पुग्न सक्छ। आजको फेसन दुनिया“मा बिर्किन झोला केवल सामान बोक्ने साधन मात्र नभएर एक सामाजिक दर्जा र फेसनको प्रतीक बनेको छ। साथै ब्याग भनेको केवल फेसन आइटममात्र नभएर फेसन र प्रसिद्धिको मूल्य कति चुलिएको छ भन्ने कुरालाई पनि यसले दर्शाएको छ। यो झोला किन्न त्यति सजिलो छैन, यसका लागि ग्राहकले लामो समयसम्म प्रतीक्षा गर्नुपर्छ। यो झोलामा पनि मानिसहरुले शेयर मार्केटमा जस्तै लगानी गर्छन्।
सन् १९४६ मा बेलायतमा जन्मिएकी बिर्किनको सन् २०२३ मा ७६ वर्षको उमेरमा फ्रान्सको पेरिसमा निधन भएको थियो। बेलायतमा जन्मेकी उनी फ्रान्सकी स्थायी बासिन्दा बनेकी थिइन्।

बहुप्रतिभाशाली बेलायती कलाकार जेनले विशेष गरी फ्रान्सेली फिल्म र संगीत उद्योगमा ठूलो योगदान पु¥याइन्। उनी फ्रान्सेली गायक तथा गीतकार सेर्ज गेन्सबुर्गसगको प्रेम सम्बन्धका कारण झनै चर्चित भइन्। उनीहरूले मिलेर गाएका केही गीत प्रसिद्ध पनि भएका थिए। जसमध्ये ज्ह तेम मोआ नो प्लूस बोलको गीतले संसारभर तहल्का मच्चाएको थियो भने केहि देशमा सो गीत प्रतिबन्ध गरिएको थियो। उनले जोन बेरीका साथ विवाह गरेर एक छोरीलाई जन्म दिएकी थिइन्। सेर्जका साथ भने १२ वर्षसम्म प्रेम सम्बन्धमा रहेर दुई छोरीलाई जन्म दिएकी थिइन्। उनको जीवन सादा, कलात्मक र सामाजिक चेतनाले भरिएको थियो। समाजसेवा र मानव अधिकारका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरेकी उनी जनावरप्रेमी थिईन्।











प्रतिक्रिया