फुटबल अनपेक्षित मोड र अविस्मरणीय क्षणले भरिएको खेल हो । कहिलेकाहीँ एउटा साधारण जस्तो देखिने क्षणले पनि सम्पूर्ण इतिहास बदलिदिन्छ । सन् १९८६ को मेक्सिको फिफा विश्वकपमा यस्तै एउटा घटना घट्यो, जसले दशकौँ पछिसम्म पनि चर्चा पाइरह्यो । अर्जेन्टिनी महान् फुटबल खेलाडी डिएगो म्याराडोनाले इंग्ल्याण्डविरुद्ध खेलेको त्यो खेल केवल दुई गोलका लागि मात्र नभई एउटा साधारण सर्ट साटासाटले पनि अमर बन्यो । त्यही सर्ट कालान्तरमा विश्वकै सबैभन्दा महँगो फुटबल जर्सी बन्न पुग्यो । त्यो खेललाई विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद खेलमध्ये एक मानिन्छ । पहिलो गोल म्याराडोनाले हातको सहायताले गरेका थिए, जसलाई उनले “ह्यान्ड अफ गड” भने । दोस्रो गोल भने उनको विशुद्ध जादुगरीले भरिएको थियो, इंग्ल्याण्ड टिमका आधा सदस्य खेलाडीलाई छक्याउँदै म्याराडोनाले गरेको गोललाई ‘गोल अफ द सेनचुरी’ भनियो । जुन आज पनि फुटबलप्रेमीहरूमाझ उत्तिकै चर्चित छ ।
म्याराडोनाको त्यो चम्किलो दिन इंग्ल्याण्डका मिडफिल्डर स्टिभ होजका लागि भने भाग्यको अजीब खेल थियो । पहिलो गोलमा उनले गरेको ब्याकपास नै निर्णायक गल्ती बन्न पुगेको थियो, जुन गोलमा म्याराडोनाको हातले निर्णायक भूमिका खेल्यो । खेलपछि मैदानमा होज र म्याराडोनाबीच जर्सी साटासाट भयो । देख्दा सामान्य लाग्ने त्यो क्षण फुटबल इतिहासको महत्वपूर्ण मोड बन्न पुग्यो । तीन दशकसम्म होजले म्याराडोनाको जर्सी सुरक्षित राखे । कहिलेकाहीँ संग्रहालयहरूलाई उधारो दिँदै आएका उनले सन् २०२२ मा अन्ततः त्यो जर्सी लिलामीमा राख्ने निर्णय गरे । जसको परिणाम चकित पार्ने खालको थियो । उक्त जर्सी ७ दशमलव १ मिलियन स्टर्लिंग पाउण्डमा बिक्री भयो, जसले यसलाई फुटबल इतिहासकै सबैभन्दा महँगो जर्सी बनाइदियो ।
यो मूल्यले पहिलेका सबै रेकर्ड तोड्यो । पेलेले सन् १९७० को विश्वकप फाइनलमा लगाएको जर्सी, जुन १ लाख ५७ हजार ७ सय ५० पाउण्ड स्टर्लिंगमा बिकेको थियो, धेरै पछाडि प¥यो । त्यसैगरी सर जोफ हस्र्टको सन् १९६६ को विश्वकप फाइनलमा ह्याट्रिक गर्दा लगाएको ऐतिहासिक जर्सी पनि ९१ हजार ७ सय ५० पाउण्डमै सीमित रह्यो । यस घटनाले केवल म्याराडोनाको जर्सीको महत्व बढाएको थिएन, फुटबलमा लिलामीको संस्कृतिलाई पनि नयाँ उचाइमा पु¥यायो । त्यसैको निरन्तरता स्वरूप लियोनल मेसीले सन २०२२ को विश्वकपमा लगाएका ६ वटा जर्सीहरू ६ दशमलव १ मिलियन पाउण्डमा बिक्री भयो । म्याराडोनाको जर्सीको तुलनामा मेसीको जर्सी मूल्य थोरै भए पनि त्यो पनि ऐतिहासिक उपलब्धि थियो ।
अन्ततः “ह्यान्ड अफ गड” को त्यो सर्ट केवल मूल्यको हिसाबले मात्र महँगो थिएन, त्यो फुटबलका नाटकीय क्षणहरू, दुःख–सुखका मिश्रण र खेलको शुद्ध भावनाको प्रतीक बनेर उभिएको थियो । स्टिभ होज र म्याराडोनाबीचको त्यो साटासाट सामान्य लागे पनि अहिले फुटबलको ऐतिहासिक दस्तावेज बन्न पुगेको छ । जसले सन् १९८६ को विश्वकप, म्याराडोनाको जादु र फुटबलप्रतिको अपार प्रेमलाई सधैँका लागि अमर बनाइदिएको छ ।
सर्वाधिक महँगो मूल्यमा बिक्री भएका १० फुटबल जर्सी (£ स्टर्लिंग पाउण्डमा)
१. डिएगो म्याराडोनाको “ह्यान्ड अफ गड“ जर्सी (१९८६) – ७ दशमलव १ मिलियन
२. लियोनेल मेसीको विश्वकप फाइनल जर्सी (२०२२) – ६ दशमलव १ मिलियन
३. पेलेको १९७० को विश्वकप फाइनल जर्सी (१९७०) – १,५७,७५०
४. सर जोफ हस्र्टको १९६६ को विश्वकप फाइनल जर्सी (१९६६) – ९१,७५०
५. क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड डेब्यु जर्सी (२००३) – ३९,०००
६. डेभिड बेकह्यामको १९९९ को च्याम्पियन्स लिग फाइनल जर्सी – ४०,०००
७. पल ग्यास्कोइनको १९९० को विश्वकप जर्सी (१९९०) – २८,६८०
८. जर्ज बेस्टको म्यानचेस्टर युनाइटेडमा खेलिएको जर्सी (१९६९) – २४,०००
९. जिनेदिन जिदानको १९९८ को विश्वकप फाइनल जर्सी – ३०,०००
१०. एरिक क्यान्टोनाको आइकोनिक जर्सी (१९९६) – १५,३५०











प्रतिक्रिया