एजेन्सी ।
युट्युबले यही जुलाई १५ देखि आफनो मोनेटाइजेसन नीति कडा बनाउँदैछ । नयाँ नियमअनुसार कम मेहनतमा बनाइएका, ठूलो संख्यामा उत्पादन गरिएका र अप्रामाणिक सामाग्रीहरू अब युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) अन्तर्गत आम्दानी गर्न अयोग्य ठहरिन सक्नेछन् । यो कदम विशेषगरी जेनरेटिभ एआई प्रयोग गरी बनाइएका सामग्रीहरूलाई लक्षित गरिएको छ । जसले एआई आवाज, टेम्प्लेटबाट बनेका भिडियोहरू वा अन्य सर्जकहरूको कामको सतही नक्कल गरेर बनाइएका भिडियोलाई समेटिएको छ ।
के परिवर्तन हुँदैछ ?
युट्युबले “मास प्रोड्युस्ड” र “रिपिटीसीयुस” सामग्रीविरुद्ध कडाइ गर्दै यस्ता सामग्रीको मोनेटाइजेसन रोक्ने निर्णय लिएको छ । नयाँ नीतिअनुसार निम्न प्रकारका सामग्रीहरू प्रभावित हुन सक्छन् :
– एउटै ढाँचाबाट तयार पारिएका सामग्रीहरू
– न्यूनतम मानव सहभागिता भएको एआई–निर्मित सामग्री
– मिल्दाजुल्दा भिडियोहरू धेरै संख्यामा अपलोड गर्ने च्यानलहरू
– अरूको मौलिक कामलाई सतहीरूपमा परिवर्तन गरी प्रस्तुत गर्ने सामग्री
किन गरियो यस्तो निर्णय ?
एआई–सहायता प्राप्त सामग्रीको प्रवाहले युट्युबमा गुणस्तर र विश्वसनीयतामा असर पारेको देखिएको छ । एआई–निर्मित क्राइम स्टोरीहरू, नक्कली समाचार र यहाँसम्म कि युट्युबका सीईओ नील मोहनकै डीप फेक भिडियोहरू पनि युट्युबमै देखिन थालेका छन् । यी सबै समस्याले युट्युबको ब्रान्ड र विश्वसनियतामाथि नकारात्मक प्रभाव पारिरहेको भन्दै कम्पनीले नीति कडाइ गर्न लागेको हो ।
कसलाई असर पर्छ ?
नयाँ नीतिले विशेषगरी एआई–आधारित समाचार च्यानलहरू, नामविहीन च्यानलहरू र स्पामजस्ता कमेन्ट्री÷रिएक्सन भिडियो बनाउने सर्जकहरूलाई प्रभावित गर्न सक्छ ।
उदाहरणस्वरूप :
-भर्चुअल स्वरुप र एआई आवाज प्रयोग गर्ने गेमिङ च्यानलहरू
- पूर्ण रूपमा अटोमेटेड स्क्रिप्ट र भिडियो प्रणालीमा आधारित च्यानलहरू
-नक्कल वा क्लिप पुनः प्रयोग गरी बनाइएका भिडियोहरू
तर, मौलिकता कायम राख्ने भर्चुअल युट्युबरहरूका लागि भने अझै पनि मोनेटाइजेसनको बाटो खुला रहन सक्छ ।
युट्युबले यस्तो भनिरहेको छ
युट्युबका हेड अफ एडिटोरियल एन्ड क्रिएटर लिआइजन रेने रिचीका अनुसार यो “सानो अद्यावधिक” मात्र हो । उनले यी विषयहरूमा स्पष्ट पारेका छन् :
-नीति रिएक्सन भिडियो वा क्लिप प्रयोग विरुद्ध होइन
-स्पामजस्ता सामग्रीहरू पहिले नै अयोग्य थिए
-यो अद्यावधिकले केवल नीति अझ स्पष्ट बनाउने काम गर्छ
सर्जकहरूका लागि के अर्थ लाग्छ ?
यदि कसैले एआई प्रयोग गरेर मौलिक स्क्रिप्ट लेखन, भिडियो सम्पादन वा एनिमेसन जस्ता रचनात्मक काम गर्छ भने समस्या नहुन सक्छ । तर, मौलिकता बिना केवल एआईको भरमा सामग्री बनाउने गरिएको छ भने ती च्यानलको डिमोनेटाइजेसन हुनसक्छ वा वाईपीपीबाट हटाउने सम्भावना प्रबल हुन्छ । यद्यपि युट्युबले यसलाई “सानो अपडेट“ भनेको छ । यसको प्रभाव गहिरो हुन सक्छ । यो नीतिलाई भविष्यमा एआई नियमन कडा हुने संकेतको रूपमा पनि हेरिएको छ । अब युट्युबले केवल मौलिक, विश्वास गर्न लायक र मानवीय श्रममा आधारित सामग्रीहरूलाई मात्र प्रोत्साहन गर्नेछ । जसले गर्दा जुलाई १५ अघि नै सर्जकहरूले आफ्नो सामग्री पुनः मूल्याङ्कन गर्नु आवश्यक छ ।











प्रतिक्रिया