बाजुरा।
बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म एक करोड रुपैंया सहयोग प्राप्त भएको छ । गत जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट राहत सामग्री तथा आर्थिकसहित एक करोड रुपैंया सहयोग भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत सङ्कलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपियाँ आर्थिक सहयोग भएको छ । बैंकमार्फत ६६ लाख २७ हजार ६ सय ३२ रुपियाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९ सय ८५, घोषणा भई बाँकी रहेको २ लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग भएको छ ।
त्यस्तै नगर प्रमुख राम बहादुर बानियाँले विभिन्न निकायबाट पुनःस्थापनाका लागि करिब १८ लाख बराबरका आवश्यक सामग्री सहयोग भएको छ । उनले समितिको खातामा जम्मा भएको ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँको चेक आइतबार एक औपचारिक कार्यक्रमका बिच पीडितलाई हस्तान्तरण गरिएको बताए ।
उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्रीसहित ४० लाख आर्थिक सहयोग गर्ने घोषण गरेको थियो । त्यस्तै पीडितलाई जिल्लाका स्थानीय तह, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
त्रिवेणी नगरपालिकाले आगलागी पीडितलाई १० लाख सहयोगको घोषणा गरेको छ भने बुढीगंगाले ५ लाख रुपैयाँ खातामा जम्मा गरेको थियो । त्यस्तै बाम्का बजारका व्यवसायीको पहलमा मात्रै पीडितका लागि ९ लाख ३ हजार २ सय ८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५० सङ्कलन भएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय बाजुरा लगायत विभिन्न निकाय तथा संस्थाबाट राहत सामग्री सहयोग भएको जनाएको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत सङ्कलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको जनाएको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिन्डर ग्यासबाट आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् केहीमा आंशिक क्षति भएको थियो ।
प्रतिक्रिया