खोटाङ।
राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट संघ–संगठनहरु सामूहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न दल निकट युवा लगायतका ब्यक्तिहरु सामूहिक रोपाइँमा जुटेका हुन् ।
धान दिवसको अवसरमा वाईसीएल नेपाल खोटाङमा आबद्द युवाहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेको छ । वाईसीएल जिल्ला कार्य समितिका अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्य सहितका टोलीले जिल्ला समितिका उपाध्यक्ष समेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो ।
वाईसीएलको केन्द्रीय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल जिल्ला अध्यक्ष राईको भनाई छ । धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नारा सहित मनाईएको धान दिवसमा प्रायः युवा सहभागिता बढी देखिएको थियो ।
दिवसको अवसरमा नेकपा एमाले निकट किसान महासंघ खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी जीवनाथ आचार्यको खेतमा रोपाइँ गरेको छ । नगरपालिकाका वडा नम्बर–८ का अध्यक्ष समेत रहनुभएको महासंघको अध्यक्ष लीला चौहानको संयोजनमा करिब १० पाथी बराबरको बीउ रोपिएको एमाले जिल्ला सदस्य टंक आचार्यले जनाए । उक्त रोपाइँमा नेकपा एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष गोपाल आचार्य, नगरपालिकाका निवर्तमान मेयर दिपनारायण रिजाल लगायतको सहभागिता रहेको थियो ।
धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र खोटाङको आयोजनामा दिक्तेलको दिक्तेलबारीस्थित युवा बर्ष नजिकै रहेको ‘डबल ए कृषि तथा पशुपालन फर्म’मा रोपाई गरिएको छ । फर्मकै समन्वय तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा रोपाइँ गरिएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलब ४० हेक्टरमा धान खेती गरिन्छ । ४० दशमलब २६ प्रतिशतको हाराहारीमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी विकास अधिकारी रबिन राईले बताए ।
प्रतिक्रिया