उदयपुर ।
उदयपुर जिल्लामा रहेका ८ पालिका मध्ये ७ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२।२०८३ कालागि बजेट ल्याएका छन् भने एक पालिकाको बजेट आउन बाँकी रहेको छ ।
उदयपुरमा रहेका पालिका मध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन् । नगरपालिका मध्ये चौदण्डीगढी नगरपालिकाले नेपालमा रहेको पालिकाहरु मध्ये सबैभन्दा पहिले नीति तथा कार्यक्रम ल्याएको थियो भने बजेट वक्तव्य पनि तोकिएको समयभन्दा पहिले नै ल्याएको छ ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिका, दोश्रो ठूलो नगरपालिका कटारी, उदयपुरगढी गाउँपालका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकाले मङ्गलवार नै आर्थिक वर्ष २०८२।०८३कालागि बजेट ल्याएका छन्।

बाँकी रहेको बेलका नगरपालिकाले असार २७ गते बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिँदै बेलका नपाकी उपप्रमुख जीरा राईले वडामा छलफल भएर विषयगत समितिमा बजेटका बारेमा घनीभूत रुपमा छलफल भैरहेको र बजेट जस्तो महत्त्वपूर्ण कुरामा विकास निर्माणका कामले दीर्घकालसम्म प्रभाव पार्ने भएकोले व्यापक छलफल गरेर संशोधन गर्न नपर्ने गरी करिब ७७ करोडको बजेट ल्याइने बताइन ।
जिल्लामा सबैभन्दा पहिले बजेट ल्याउने चौदण्डीगढी नगरपालिकाले १८ औँ नगरसभाबाट १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट ल्याएको छ।
जिल्लाको सबैभन्दा ठूलो र सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको १५ औँ नगरसभाले १ अर्ब ५३ करोड ३४ लाख १९ हजार अनुमानित बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारतर्फ विशेष प्राथमिकता दिइएको छ ।
यसैगरी उदयपुरको दोश्रो ठूलो नगरपालिका कटारीले पनि मङ्गलवार नै १५ औँ गरसभाबाट आर्थिक वर्ष २०८२।०८३ कालागि ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कटारीले बजेटमा नयाँ योजनामाभन्दा पुराना योजनाहरु कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएको छ ।
उदयपुरको पहाडी क्षेत्रमा पर्ने उदयपुरको पुरानो सदरमुकाम रहेको उदयपुरगढी गाउँपालिकाले १९ औ गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२।०८३ कालागि ६८ करोड ४० लाख ५ हजार १ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले नीति तथा कार्यक्रम र उपाध्यक्ष जीत बहादुर खड्काले वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
यस्तैगरी रौतामाई गाउँपालिकाले पनि १७ औ गाउँसभा मार्फत आगामी आ.ब २०८२।०८३ कालागि ६६ करोड ९९ लाख ६१ हजार बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा प्राथमिकता दिएर रौतामायृको बजेट आएको छ । अर्को पहाडी क्षेत्रको गाउँपालिका ताप्लीमा पनि आगामी आर्थिक वर्षकालागि १७ औँ गाउँसभा मार्फत नीति तथा कार्यक्रम र बजेट ल्याइएको हो । ताप्ली गाउँपालिकाले ४१ करोड ७३ लाख५५ हजारको अनुमानित बजेट ल्याएको हो ।खासगरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दिगो भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको छ ।
यसैगरी अर्को लिम्चुङबुङ गाउँपालिकाले पनि आ.ब २०८२।०८३ कालागि १७ औ गाउँसभा मार्फत ४३ करोड १० लाख
९८ हजार २ सय २६ रुपैयाँको बजेट मङ्गलवार नै सार्वजनिक गरेको छ । यस पालिकाले पनि भौतिक पूर्वाधार, पर्यटन, कृषि,शिक्षा स्वास्थ्यमा नै प्राथमिकता दिएर बजेट सार्वजनिक गरेको छ ।
प्रतिक्रिया