बुटवल।
तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षता भएको दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ । बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गरिन् ।
तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १६ करोड ११ लाख ४९ हजार ५८२ रुपैयां बढीको बजेट ल्याएको हो ।
उप–प्रमुख चौधरीले बजेट नीति र प्राथमिकताबारे जानकारी दिँदै सामाजिक विकास, पूर्वाधार निर्माण,शिक्षा,स्वास्थ्य,रोजगारी र स्थानीय उत्पादन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बजेट सार्वजनिक गरिन् । बजेट समावेशी, दिगो र समन्वित विकासका आधारमा तयार गरिएको बताइन् । नगरपालिकाले यसपटकको बजेटमा स्थानीय स्वरोजगार, महिला सशक्तिकरण, युवा सीप विकास, डिजिटल सेवा विस्तार र वातावरण संरक्षण जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ। यो बजेट तिलोत्तमानगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गर्दै तयार पारिएको छ । तिलोत्तमा नगरले स्थापित गरेको गरिमालार्ई थप उचाँइमा पुर्याउने गरी ल्याइएको यस बजेटले तिलोत्तमा नगरपालिका भित्रका बहुआयामिक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्न गरेको छ।
बजेट तर्जुमा गर्दा मार्ग निर्देशन गर्नुहुने संघ तथा प्रदेश सभाका माननीय, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विषयगत समितिका संयोजकहरु, नगर कार्यपालिकाका सदस्यहरु, नगर सभाका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधीहरु, सम्पूर्ण कर्मचारी, टोल विकास संस्था, वुद्धिजीवी, नागरिक समाजका अगुवा, संघ संस्था, निजी क्षेत्र, सञ्चारकर्मी लगायत सम्पूर्ण नगरवासीलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
नगर प्रमुख खाँणले बजेट सबै वडामा समानरूपमा लक्षित गरी विकास पूर्वाधार र सेवाप्रवाहमा गुणस्तर कायम गरिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया