यसरी हुन्छ मुद्रा महँगो र सस्तो

डलर, यूरोभन्दा कसरी भयो त नेपाली रुपैयाँ सस्तो

376
Shares

विश्व अर्थतन्त्रमा कुनै पनि देशको मुद्रा महँगो वा सस्तो हुनुका विभिन्न कारण र प्रक्रिया छन् । मुद्रा महँगो वा सस्तो भन्नाले सो मुलुकको मुद्रा अन्य मुलुकहरूको मुद्रासँग तुलना गर्दा यसको विनिमय दर कस्तो छ भन्ने बुझिन्छ । जब कुनै देशको मुद्रा अन्य मुद्राको तुलनामा बढी मूल्यवान् हुन्छ, त्यसलाई मूल्यवृद्धि भनिन्छ भने कम मूल्यवान् हुँदा मूल्यह्रास भनिन्छ । मुद्रा मूल्य निर्धारणका मुख्य कारकहरूमा माग र आपूर्ति, ब्याजदर, आर्थिक अवस्था, वाणिज्य घाटा र सार्वजनिक ऋण, राजनीतिक र सामाजिक स्थिरता, तथा भूराजनीतिक र अन्तर्राष्ट्रिय प्रभावहरू पर्छन् ।

यसरी तोकिन्छ डलरसँग नेपाली मुद्राको विनिमय दर

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गर्छ । तर, यो स्वतन्त्र रूपमा तय हुँदैन । सन् १९९३ यता नेपालले भारतीय रुपैयाँसँग स्थिर दर (१ भारतीय रुपैयाँ बराबर १ दशमलव ६ नेपाली रुपैयाँ) राखेकाले अमेरिकी डलरसँगको दर पनि भारतीय रुपैयाँको आधारमा तय हुन्छ । भारतमा डलरको विनिमय दर बजारको आपूर्ति र मागअनुसार चल्ने फ्लोटिंग प्रणालीमा आधारित हुन्छ । त्यसैले, जब भारतीय रुपैयाँ अमेरिकी डलरसँग कमजोर वा बलियो हुन्छ, त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्छ । उदाहरणका लागि यदि १ अमेरिकी डलरको भारतीय मूल्य ८६ दशमलव ०७ रुपैयाँ भयो भने नेपाल राष्ट्र बैंकले त्यसको आधारमा ८६.०७ × १.६ = १४२ दशमलव ८७ नेपाली रुपैयाँ जति गणना गर्न सक्छ । यसरी, नेपाली रुपैयाँको अमेरिकी डलरसँगको दर प्रत्यक्ष रूपमा भारतको विनिमय दरसँग जोडिएको छ । नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी मुद्राको विनिमय दर प्रकाशित गर्छ, जुन दरलाई बैंकहरूले आफ्ना कारोबारी दर निर्धारण गर्न प्रयोग गर्छन् ।

सुन, चाँदी र मुद्रा स्थिरताको सम्बन्ध

सुन र चाँदीको पनि मुद्रा विनिमय दरमा असर पर्ने सम्बन्ध छ । विगतमा सुनको आधारमा मुद्रा प्रणाली चलाइन्थ्यो, यद्यपि अहिले अधिकांश देशले फ्लोटिङ प्रणाली अपनाएका छन् । सुन अझै पनि सुरक्षित सम्पत्तिको रूपमा मानिन्छ र मुद्रा कमजोर हुँदा लगानीकर्ताहरूमा सुन किन्ने प्रवृत्ति देखिन्छ, जसले सुनको मूल्य बढाउँछ । अमेरिकी डलर र सुनको मूल्य प्रायः विपरीत दिशामा चल्ने प्रवृत्ति हुन्छ । जब डलर मजबुत हुन्छ सुन सस्तो हुन्छ भने डलर कमजोर हुँदा सुन महँगो हुन्छ । चाँदी पनि सुरक्षित सम्पत्ति हो तर यसको औद्योगिक प्रयोगले मूल्यमा उतार–चढाव ल्याउँछ र मुद्रा कमजोर हुँदा यसको मूल्य बढ्न सक्छ ।

सिक्काको मूल्य

पहिलेका समयमा सुनचाँदी जस्ता धातुले सिक्काको मूल्य निर्धारण गरिन्थ्यो । तर, अहिले तामा वा निकेल जस्ता सस्तो धातु प्रयोग भए पनि मुद्राको मूल्य सरकारको नीतिमा भरपर्ने गरेको छ । आधुनिक मौद्रिक प्रणालीमा सिक्काको मूल्य त्यसको बनावट, वजन वा प्रयोग भएको धातुको आधारमा नभई सरकार र केन्द्रीय बैंकले तोकेको दरमा आधारित हुन्छ । यस्तो प्रणालीलाई “फियाट मुद्रा” भनिन्छ, जहाँ मुद्रा धातुको मूल्यले होइन, कानुनी मान्यता र जनविश्वासले मूल्यवान् हुन्छ ।

मुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने मुख्य तत्व

मुद्राको मूल्य मुख्यतः माग र आपूर्तिको सन्तुलनमा निर्भर हुन्छ । विदेशी लगानी र निर्यात बढी भए मुद्रा महँगो हुन्छ भने आयात वा अत्यधिक पैसा छपाइले मूल्य घटाउँछ । उच्च ब्याजदरले विदेशी लगानी आकर्षित गरेर मुद्रा बलियो बनाउँछ, जबकि कम ब्याजदरले त्यसको विपरीत असर गर्छ । आर्थिक सूचकहरू (जस्तै कुल ग्राहस्थ्य उत्पादन वृद्धि, मुद्रास्र्फीति, बेरोजगारी) सकारात्मक भएमा मुद्रा मजबुत हुन्छ । व्यापार घाटा, उच्च सार्वजनिक ऋण र राजनीतिक अस्थिरता मुद्रा कमजोर बनाउने मुख्य कारण हुन् । साथै, अमेरिकी डलरको नीतिहरू र अन्तर्राष्ट्रिय प्रभावले पनि अन्य देशहरूको मुद्रामा प्रत्यक्ष असर पार्छ ।

मुद्रा विनिमय दर प्रणाली र महँगा मुद्राहरूको भूमिका

मुद्रा विनिमय दर प्रणाली दुई प्रकारका हुन्छन् । फ्ुलोटिङ र फिक्स्ड । फ्लोटिङ दर बजारको माग र आपूर्तिमा आधारित स्वतः परिवर्तन हुने प्रणाली हो, जुन प्रायः विकसित देशहरूले अपनाएका छन् । फिक्स्ड दरमा सरकार वा केन्द्रीय बैंकले आफ्नो मुद्रा कुनै विशेष मुद्रासँग स्थिर राख्न प्रयास गर्छ । विनिमय दर नीति नियमनको जिम्मा केन्द्रीय बैंकहरूको हुन्छ, जस्तै नेपालमा नेपाल राष्ट्र बैंक, भारतमा रिजर्भ बैंक अफ इन्डिया वा अमेरिकामा अमेरिकी फेडरल रिजर्भ बैंकले गरेको छ । अमेरिकी डलर विश्वको प्रमुख आरक्षित मुद्रा हो, जसको माग स्थिर छ र यसलाई सुरक्षित लगानीको स्रोत मानिन्छ । यूरो पनि विश्व व्यापारमा महत्वपूर्ण छ र यसको मूल्य यूरोजोनको आर्थिक अवस्थामा निर्भर हुन्छ । नेपाली रुपैयाँ भने कमजोर मुद्राको रूपमा चिनिन्छ । नेपालमा निर्यातभन्दा आयात धेरै, विदेशी मुद्रा भण्डारणको अभाव, आर्थिक तथा राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपहरूजस्ता कारणले मुद्रा कमजोर भएको हो । यसले विनिमय दरमा निरन्तर दवाब सिर्जना गर्छ ।