भदौमा हुने नाडा अटो शो २०२५ अर्थमन्त्रीले उद्घाटन गर्ने


काठमाडौँ
आउँदो भदौ ३ गते देखि ८ गतेसम्म काठमाण्डौँको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५को प्रमुख अतिथिको रुपमा उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री पौडेलसँग आज भेटघाट तथा छलफल गरेको थियो ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्रलगायत समग्र नीजि क्षेत्र मैत्री बजेट आएको बताउनु भयो ।

सोहि छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने बताउनु भयो ।
मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गर्नुभयो ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।