साका दावा : आत्मशुद्धि गर्ने पुण्य महिना

1.69k
Shares

नेपाली पञ्चाङ्ग अनुसार ज्येष्ठ शुक्ल पूर्णिमाको दिन पर्ने साका दावा अर्थात् तिब्बती उच्चारण अनुसार सागा दावा, एक सामान्य धार्मिक पर्व मात्र नभएर आत्मा र चेतनाको उच्चतम उन्नयन गर्ने पावन अवसर हो । विशेषतः हिमाली र तिब्बती बौद्ध परम्पराको मुटुमा बस्ने यो पर्व, बुद्धका जीवनका तीन महानतम क्षणहरू पावन जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको स्मरणमा समर्पित छ।

‘साका’ शब्द तिब्बती पात्रोमा देखिने विशेष नक्षत्रबाट लिइएको हो भने ‘दावा’ को अर्थ महिना हुन्छ । दुवैको समागमले चन्द्र पात्रोको चौँथो महिनालाई ‘साका दावा’ बनाउँछ, जुन आध्यात्मिक ऊर्जा, पुण्य सञ्चय र धर्मपालनको अनुपम समयको प्रतीक मानिन्छ ।

धर्म र करुणाको सङ्कल्प मार्ग

यो पर्व केवल एक दिवसीय उत्सव मात्रै होइन, पूरै महिनाभरि चल्ने आध्यात्मिक यात्रा हो । तर, यसको शिखर ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् पन्ध्रौँ दिनलाई लिइन्छ । जहाँ बुद्धको त्रिस्मृति (जन्म, ज्ञान र निर्वाण) एकै दिन सम्झिन्छ । यो भनेको ज्ञान, करुणा र मुक्ति तीनैको समर्पण गर्नु हो ।

यही दिन भक्तजनहरू शुद्ध आचरण, ध्यान, सेवा र दानमा विशेष ध्यान दिँदै आफ्नो जीवनलाई बुद्धका आदर्शमा रंगाउन प्रेरित हुन्छन् । नेपालका स्वयम्भूनाथ, बौद्धनाथ, नमोबुद्ध, तथा कैलाश पर्वतजस्ता पवित्र तीर्थस्थलमा भक्तजनहरूको परिक्रमा देखिन्छ । कतिले त १०८ पटकसम्म परिक्रमा गरेर आस्था अर्पण गर्छन् । यस्तो तपस्यामार्फत उनीहरू केवल कर्म शुद्धि मात्र होइन, आत्माको स्पर्श गरिरहेका हुन्छन् ।

एक कार्य, अनन्त फल

बौद्ध शास्त्रहरू अनुसार, साका दावा महिना पुण्य बहुगुणित हुने समय हो । विनय ग्रन्थ “ट्रेजर अफ कोटेसन एण्ड लजिक” अनुसार, यस महिनामा गरिएको प्रत्येक सत्कर्मको फल ३० करोड गुणासम्म बढ्ने विश्वास गरिन्छ । त्यसैले यो आत्मशुद्धिको मात्र होइन, समस्त प्राणीप्रतिको सहानुभूति, दया र सेवा विस्तार गर्ने अवसर पनि हो । यो अवधिमा श्रद्धालुहरूले विभिन्न बौद्ध गुम्बा तथा स्तूपमा पूजा, सूत्रपाठ र ध्यान सत्रमा भाग लिन्छन् ।

त्रिरत्न सूत्र, क्षितिगर्भ सूत्र, महामुक्ति सूत्र आदि पाठ गर्दै धेरैले आठवटा महायान प्रण लिइ जीवनमा धार्मिक अनुशासन र करुणाको अभ्यास थालनी गर्छन् । थुनिएका जनावरलाई मुक्त गर्ने, भोकाहरूलाई खाना खुवाउने, बौद्ध मूर्ति र स्तूपहरूमा दीप, फूल, धूप अर्पण गर्ने जस्ता कर्महरूले साका दावा सार्वभौम करुणाको एक उज्यालो दीपमा परिणत हुने गरेको छ ।

बौद्ध अनुयायीको विश्वव्यापी उत्सव

तिब्बत, नेपाल, भुटान, मंगोलिया मात्र होइन, पश्चिमी विश्वका थुप्रै देशहरूमा समेत साका दावा आत्मिक नवीकरणको प्रतीक बनिसकेको छ । ‘फाउन्डेसन फर द प्रिजर्भेसन अफ द महायाना ट्रेडीसन’ (एफपीएमती) नामक अन्तर्राष्ट्रिय संस्थाले यो महिनालाई भव्य रुपमा मनाउँदै आएको छ ।

विश्वभर फैलिएका लामा गुरुहरूको मार्गदर्शनमा पूजाहरू आयोजना गरिन्छ, जहाँ हजारौँ भक्तजन भौतिक तथा अनलाइन माध्यमबाट सहभागी हुन्छन् । साका दावा अब केवल तिब्बती परम्परामा मात्र सीमित छैन, यो अब सार्वभौम मानवताको पर्व बनेको छ, जसले प्रेम, शान्ति, सेवा र समर्पणको स्वर गुञ्जाउँछ ।

नेवार समुदायको पनि विशेष दिन

साका दावा पर्वमा पर्ने पूर्णिमालाई नेवार समुदायमा ‘ज्याः पुन्हि’ या ‘पलाँति पुन्हि’ का रूपमा पनि चिनिन्छ । जुन श्रम र श्रद्धाको उत्सव हो । यो दिन पाटन दरबार संग्रहालयमा मल्लकालीन कला र भक्ति भावनाले भरिएका दुर्लभ कृति जस्तै श्रीनिवास मल्लको नागपासमा सजिएको सिंहासन र सिद्धि नरसिंह मल्लद्वारा चित्रित कृष्णचरित्रहरू प्रदर्शन गरिन्छ ।

मेघ मलहार रागमा आधारित “श्याम धनी” गीतको गायन, जुन वर्षा निम्त्याउने विश्वाससहित गाइन्छ । जसले सांस्कृतिक र आध्यात्मिकता बीचको गहिरो समन्वयलाई दर्शाउँछ । साथै, केशव नारायण चोकको श्रीमणिकेशव नारायण यही दिन खोलिन्छ, जहाँ अस्ताउने सूर्यको किरण प्रतिमाको चरणमा पर्ने अद्भुत दृश्य देखिन्छ । जसले विश्वास र प्रकृतिको एकता झल्काउँछ ।

विश्वास र करुणाको उज्यालो दीप

साका दावा वास्तवमै कुनै एक परम्पराको सीमितता होइन । यो मानव चेतनाको त्यो उज्यालो पल हो, जहाँ प्रेम, दया र शुद्ध आचरणको ज्योति जल्छ । विश्वभरिका बौद्ध अनुयायीहरू एउटै लयमा ध्यान, सेवा र सत्कर्ममा समर्पित भएर जीवनलाई अझ अर्थपूर्ण बनाउने यात्रामा अघि बढ्छन् । धर्म केवल पूजामा होइन, व्यवहारमा छ, करुणा केवल शब्दमा होइन, कर्ममा छ र मुक्ति केवल अन्त्य होइन, एक जीवनपथ हो भन्ने सन्देश यो पर्वले दिएको छ ।