बिएमडब्लु आइएक्स २ विद्युतीय एसएभी नेपालमा सार्वजनिक


काठमाडौं
नेपालमा बीएमडब्लु गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लु आइएक्स २ खेलकुद बहुउद्देश्यीय सवारी (एसएभी) नेपाली बजारमा भित्र्यएको छ । यो सवारीले विद्युतीय यातायात र दिगो प्रविधिप्रति बीएमडब्लु कम्पनीको प्रतिबद्धता झल्काउँछ। आकर्षक स्वरूप र बुद्धिमानी प्रणालीको संयोजनसहित यो मोडेलले नयाँ प्रविधि र वातावरणमैत्री जीवनशैली रोज्ने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
बीएमडब्लु आइएक्स २ इड्राइभ २० नामक यो नयाँ संस्करणले अधिकतम १५० किलोवाट÷२०४ अश्वशक्ति (अस्थायी बृद्धिसहित) उर्जा उत्पादन गर्न सक्छ भने यसले ४३० देखि ४७५ किलोमिटर दूरी पार गर्न सक्छ (डब्लुएलटिपी प्रमाणीकरणअनुसार)। प्रति १०० किलोमिटरमा १७.२ देखि १५.४ किलोवाट घण्टा ऊर्जा खपत गर्ने यो शून्य उत्सर्जनयुक्त गाडीले प्रिमियम श्रेणीको सानो एसएभी बजारमा उच्च स्थान ओगट्ने अपेक्षा गरिएको छ ।
पूर्ण शक्ति, शून्य प्रदूषण
अन्य बीएमडब्लु विद्युतीय सवारीहरूझैं, नयाँ बीएमडब्लु आइएक्स २ मा पनि कम्पनीको पाँचौँ पुस्ताको इड्राइभ प्रविधि समावेश गरिएको छ। यसको २०० न्यूटन मिटर टर्क उत्पन्न गर्ने क्षमताले गर्दा यो सवारी २.८ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा गती लिन सक्षम छ । अधिकतम गती १७० किलोमिटर प्रतिघण्टा रहेको यो सवारी ऊर्जा दक्षताको दृष्टिकोणले पनि प्रशंसनीय छ ।
शक्तिशाली चार्जिङ प्रणाली
बीएमडब्लु आइएक्स २ मा आधुनिक चार्जिङ विकल्पहरू उपलब्ध छन् । संयुक्त चार्जिङ इकाइ (सीसीयू) ले ११ किलोवाटसम्मको एसी चार्जिङ र १३० किलोवाटसम्मको डीसी छिटो चार्जिङ समर्थन गर्दछ। यस प्रणालीको मद्दतले गाडीलाई १०% देखि ८०% सम्म चार्ज गर्न करिब २९ मिनेट लाग्दछ ।
भित्री सजावट र प्रविधिमा प्रिमियम अनुभूति
यस गाडीमा उच्चस्तरीय भित्री सजावट उपलब्ध छ, जसमा स्पोर्ट सिटहरू, भर्नेस्का छालाको आवरण, उन्नत मनोरञ्जन प्रणाली, १०.७ इन्चको घुमाउरो पर्दा, र १२ स्पिकर हार्मन कार्डन ध्वनि प्रणाली जस्ता विशेषताहरू छन् । यसले प्रयोगकर्तालाई प्रिमियम स्तरको सुविधा र आराम प्रदान गर्छ ।
सुरक्षा र चालकअनुकूल प्रविधिहरूको उत्कृष्ट संयोजन
सुरक्षाको दृष्टिकोणले पनि बीएमडब्लु आइएक्स २ उत्कृष्ट मानिन्छ । यसमा सक्रिय सवारी नियन्त्रण, पावर ब्रेक प्रणाली, गतिको सन्तुलन प्रणाली (डाइनामिक स्ट्याबिलिटी कन्ट्रोल), ब्रेक नियन्त्रण प्रणाली, सुरुआती मद्दत प्रणाली, र कुना मोड्दा नियन्त्रण प्रदान गर्ने ब्रेक प्रणालीलगायत अत्याधुनिक सुविधा समावेश छन् । यी सबै सुविधाले गर्दा सवारी चलाउँदा सुरक्षा, आराम र विश्वसनीयता सुनिश्चित हुन्छ ।
बीएमडब्लुको इलेक्ट्रिक यात्रामा नयाँ उपलब्धि
लक्ष्मी प्रिमियम मोटर्सले नेपाली बजारमा यसअघि पनि बीएमडब्लु एक्स१, एक्स२, एक्स३, एक्स४, एक्स५, एक्स७, आइएक्स१, आइ४, आइएक्स३ (विद्युतीय), ३ सिरिज र ५ सिरिज सेडानहरू, साथै प्लग–इन हाइब्रिड एक्स५ उपलब्ध गराउँदै आएको छ। अब नयाँ बीएमडब्लु आइएक्स २ को आगमनसँगै नेपालमा बीएमडब्लुको विद्युतीय सवारीप्रतिको रुचि अझ बढ्ने कम्पनीको विश्वास छ।