उदयपुर ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार त्रियुगा नगरपालिका वडा नं ५ को देउरी र १२ नं वडाका केही पसलमा अनुगमन गर्दा दुई पाउरोटी उद्योगलाई जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त रुपमा रहेको अनुगमन टोलीले अनुगमन गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।
अनुगमन त्रियुगा नगरपालिका वडा नं ५ मा रहेको उदयपुर पाउरोटी उद्योगमा गरिएको जानकारी दिँदै अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालय उदयपुरका खरिदार उमेशमणि पोखरेलले उदयपुर पाउरोटी उद्योगमा मापदण्ड विपरीत पाउरोटी उत्पादन गरेको पाइएपछि.१० हजार जरिवाना गरिएको बताए ।

यसैगरी त्रियुगा नगरपालिका वडा नं १२ मा रहेको रुक्साना पाउरोटी उद्योगले पनि मापदण्ड विपरीत उत्पादन गरेको पाइएपछि रु ५ हजार जरिवाना गरिएको पोखरेलले बताए ।
यसैगरी त्रिनपा १२ कै ३ वटा किराना पसलमा अनुगमन गर्दा दुईवटा पसललाई सचेत गराइएको र एउटा पसल ठिकै रुपमा सञ्चालन भएको पाइएको अनुगमनकर्ता पोखरेलले बताए ।
केही दिन अघि पनि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गाईघाट पूर्वको क्षेत्रमा मदन भडारी लोकमार्गमा संचालनमा रहेका १० वटा होटलको अनुगमन गरेको थियो । सो अनुगमनमा केही होटलहरुले मापदण्ड विपरीत खाद्य सामग्रीहरु बिक्री वितरण गरेको र पेडा भण्डारहरुमा पनि अनुगमन गरेको थियो । पेडा भण्डारहरुमा अनुगमन गर्दा बासी, सडेगलेका मानव स्वास्थ्यमा असर पर्ने खालका खाद्य बस्तुहरु बिक्रीकालागि राखिएको फेला परेपछि जरिवाना गरिएको पोखरेलले बताए ।
प्रतिक्रिया