पृथ्वीमै चन्द्रमाको अनुभूति: “मून दुबई”


कल्पना गर्नुहोस, तपाईं पृथ्वीमा हुनुहुन्छ तर चन्द्रमाको सतहमा हिँडिरहनु भएको अनुभूति भइरहेको छ । गुरुत्वाकर्षण कम भएको, रहस्यमय उज्यालोमा चहकिएको वातावरण र एकदमै अनौठो, अवास्तविक शान्ति । कुनै रकेट नचढीकनै अन्तरिक्षमा पुगेको महसुस गर्ने यस्तो विलासी सपना अब वास्तविक बन्ने तयारीमा छ । अनुभवात्मक पर्यटनको एक साहसी नयाँ अध्याय क्षितिजमा देखिँदैछ, जसको आकृति चन्द्रमाजस्तै हुनेछ । केही समय अघि क्यानाडेली उद्यमी माइकल आर. हेन्डरसनले मून दुबई नामक एक महत्वाकांक्षी लक्जरी रिसोर्टको योजना सार्वजनिक गरे । अन्तरिक्षको अद्भुतता पृथ्वीमै ल्याउने उद्देश्यसहित बनिरहेको यो अद्वितीय गन्तव्यको अनुमानित लागत ५ अर्ब अमेरिकी डलर हुनेछ, जसलाई ‘मून वल्र्ड रिसोटर््स इन्कर्पोरेटेड’ ले निर्माण गर्नेछ । परियोजनाको लक्ष्य भनेको यो रिसोर्टलाई विश्वकै एक प्रमुख गन्तब्यको रूपमा उभ्याउनु हो ।

मून दुबई विशेष बन्नुको कारण केवल यसको लागत वा आकारले मात्र होइन, यसको असाधारण डिजाइनले हो । यो रिसोर्ट एक विशाल गोलाकार संरचनाको रूपमा बनाइनेछ, जसलाई चन्द्रमाको स्वरूप दिईनेछ । निर्माण सम्पन्न भएमा यसको उचाइ ७ सय ३५ फिट हुने र यो विश्वको सबैभन्दा ठूलो गोल भवन बन्नेछ । यस संरचनाभित्र ४ हजार लक्जरी होटल सुइट, जहाँ अन्तरिक्षको झल्को दिने उच्चस्तरीय सेवा उपलब्ध हुनेछ । खाना, शपिंग र मनोरञ्जनका लागि एक तीन तल्ले विशाल संरचना, ३ सय निजी आवास जसको क्षेत्रफल करिब २ हजार वर्गफुटको हुनेछ । यो अवधारणा केवल विलासी मात्र नभई अन्तरिक्षको परिकल्पनामा आधारित अनुभव प्राप्तिका लागि हुनेछ । अन्तरिक्ष यान चढेर जानुको सट्टा यहाँ पुग्नेहरूले चन्द्रमाको भौगोलिक बनावट र सौन्दर्य झल्किने वातावरणमा पाइला टेक्नेछन् । कोही अन्तरिक्षप्रेमी वा असाधारण यात्राको अनुभव चाहन्छन भने मून दुबईले पृथ्वी नछोडिकनै अर्को दुनियाँको अनुभूति दिनेछ । अन्तरिक्ष यानमा जान नपरे पनि यहाँ आउनेहरूले चन्द्रमाको सतहजस्तो वातावरणमा हिँड्ने, बस्ने र रमाउने सौभाग्य पाउनेछन् ।

आर्किटेक्चरल र लक्जरी पर्यटनमा अगाडि रहेको दुबई, मून रिसोर्टहरू निर्माण हुने विश्वका चार प्रमुख शहरहरूमध्ये पहिलो बन्ने सम्भावना रहेको छ । दुबई सहित उत्तर अमेरिका, युरोप र मध्यपूर्व तथा उत्तर अफ्रिकाका अन्य तीन ठूला शहरहरूमा पनि यस्ता रिसोर्टहरूको निर्माण योजना अघि बढाइएको छ । जसले यो परियोजनालाई अन्तरिक्ष–युगको अतिथि सत्कारको एक विश्वव्यापी दृष्टिकोण बनाउनेछ । मून वल्र्ड रिसोर्ट सन् २०२७ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यदि यो परियोजना सफलतापूर्वक निर्माण भयो भने मून दुबई केवल एउटा रिसोर्ट नभई भविष्यको डिजाइन, अन्तरिक्ष अन्वेषण, अत्याधुनिक प्रविधि, र विश्वस्तरीय मनोरञ्जनको नयाँ मापन बन्नेछ । यो रिसोर्ट भविष्यको वास्तुकला, अत्याधुनिक प्रविधि, अन्तरिक्ष अन्वेषण र लक्जरी जीवनशैलीको नयाँ परिभाषा बन्नेछ।

(एजेन्सीको सहयोगमा)