जोन डी. रोकफेलर कुनै बेला अमेरिकी उद्योग क्षेत्रको सबैभन्दा शक्तिशाली नाम थिए । संसारको पहिलो अर्बपति उद्योगी, एक यस्ता व्यक्ति जसले शून्यबाट शुरू गरेर उद्योगको साम्राज्य खडा गरे । साधारण पारिवारिक पृष्ठभूमिबाट आएका एक युवक जसले २५ वर्षको उमेरमै तेल प्रशोधन उद्योगमा प्रवेश गरी अमेरिकाको ठूलो तेल प्रशोधन केन्द्र चलाएका थिए । उनी दृढ, अनुशासित र अपराजेय महत्त्वाकाङ्क्षाले भरिएका थिए । यही दृढताले उनलाई उचाइको शिखरमा पु¥यायो ।
३१ वर्ष पुग्दासम्म उनका हातमा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी थियो । ३८ वर्षमा उनको स्ट्यान्डर्ड आयलले अमेरिकाको झन्डै ९०% तेल प्रशोधन नियन्त्रणमा लिइसकेको थियो । ५० पुग्दा उनी अमेरिकाको मात्र होइन, संसारकै सबैभन्दा धनी व्यक्ति बने । तर, एउटा घटनाले उनको जीवन नै परिवर्तन गरिदियो । ५३ वर्षको उमेरमा जीवनले उनीमाथि कठोर प्रहार ग¥यो । अपार धन सम्पत्तिका बावजुद उनको स्वास्थ्य पूर्ण रूपमा बिग्रियो । उनलाई एलोपेसिया भयो । टाउकोका सबै कपाल, आँखीभौँ र पलक समेत झरे । पेटको अवस्था यस्तो भयावह भयो कि उनी एकपटकमा केवल एक चम्चा खाना मात्र खान सक्थे । अत्यधिक तनावले निद्रा हरायो, हाँसो हरायो, जीवनको स्वाद हरायो । शारीरिक र मानसिक पीडाले उनी थला परे ।
डाक्टरहरूले उनी एक वर्षभन्दा बढी नबाँच्ने बताए । त्यो क्षण रोकफेलरका लागि भने गहिरो आत्मपरीक्षणको शुरूवात भयो । उनले आफूले कमाएको सम्पत्ति के का लागि भनेर आफैसँग प्रश्न गर्न थाले । त्यही प्रश्नले उनलाई एउटा निर्णायक मोडमा उभ्याइदियो । धनलाई समातिरहने मोह छोड्दै, उनले बाँड्न शुरू गरे । सामान्य दान होइन, अर्थपूर्ण योगदान गर्ने सोच बनाए । उनी आफैंले स्थापना गरे रोकफेलर फाउन्डेसन, जसले विज्ञान, शिक्षा र जनस्वास्थ्यको माध्यमबाट मानव जीवनमा परिवर्तन ल्याउने उद्देश्य राख्यो । त्यसपछि उनको जीवनमा कुनै चमत्कारजस्तै परिवर्तन शुरू भयो ।
उनको परोपकारी अभियान मलेरिया र क्षयरोग विरुद्धको लडाइँमा सहारा बन्यो । विद्यालय, विश्वविद्यालय, जनस्वास्थ्य अभियानहरू र लाखौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कामहरूमा उनको हात रह्यो । जसरी उनले दान दिन शुरू गरे, त्यसरी नै उनका पीडाहरू हराउन थाले । शारीरिक पीडा कम हुँदै गयो, मानसिक तनाव हराउँदै गयो । उनले फेरि निदाउन, मुस्कुराउन र जीवनको रस लिन थाल्नुभयो । उनले अब आफूलाई एक सम्पत्तिको मालिक होइन, मानवसेवाको माध्यम माने । डाक्टरहरूले बढीमा एक वर्ष मात्र बाँच्छ भनेका थिए तर, उनको आयुमा थप ४५ वर्ष जोडियो । सम्पत्तिको भारले होइन, सेवा र मनकारी व्यवहारले ९८ वर्षको उमेरमा उनले शान्तिपूर्वक यो संसार छाडे ।
अन्तिम दिनहरूमा रोकफेलर प्रायः आफ्नो जीवनको समीक्षा गर्थे । उनले “भगवानले मलाई धन दिनुभयो । म विश्वास गर्छु, धन कमाउने शक्ति पनि भगवानको उपहार हो । जुन मानवजातिको भलाइको लागि प्रयोग हुनुपर्छ” भनेर आफ्नो डायरीमा लेखेका थिए । दान दिने क्रममा उनले उद्देश्य पाए । सहयोग गर्ने क्रममा, उनले खुसी पाए । अनि सबै छोड्ने क्रममा उनले अनन्त शान्ति पाए । रोकफेलरको कथा अपराजेय सफलताको मात्र होइन, त्यो बुझाइको कथा हो । जसले साँचो सम्पत्ति तपाईंले कति थुपार्नुभयो भन्नेमा होइन, तपाईंले कति बाँड्नुभयो भन्नेमा निर्भर गर्छ ।











प्रतिक्रिया