६५ प्रतिशतसम्म बढी वर्षा हुने, २० लाखभन्दा बढी प्रभावित हुने

लुम्बिनी प्रदेश सबैभन्दा बढी जोखिममा

13.44k
Shares

काठमाडौं ।

यस वर्षको मनसुनमा नेपालभर औसतभन्दा बढी वर्षा हुने २० लाखभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट मनसुनको सक्रियता शुरू भइसकेको जनाएको छ । विभागका अनुसार बंगालको खाडी, दक्षिण भारतको केरला, श्रीलंका, माल्दिभ्स आसपासको क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ र क्रमशः नेपालतर्फ विस्तार हुँदै छ । नेपालमा जेठ १९ गते सोमबारबाट मनसुन शुरू हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुनमा कम्तीमा पनि २० लाख मानिस प्रत्यक्ष रुपमा प्रभावित हुने खतरा छ । कर्णाली, गण्डकीका अधिकांश र लुम्बिनीको उत्तरी भागमा सरदरभन्दा ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेकोले लुम्बिनी प्रदेशकै बढी प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जना प्रभावित हुने अनुमान गरिएको छ । त्यसैगरी दोस्रोमा बागमती प्रदेशमा ७४ हजार घरधुरीका ३ लाख २७ हजार ३७६ जना र कोशी प्रदेशका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जना प्रभावित हुनसक्ने बताइएको छ ।
यस पटक सुदूरपश्चिमको ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० र मधेसका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ र कर्णालीका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जना प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

प्राधिकरणका अनुसार गत वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा ४ सय ९४ जनाको मृत्यु भएको थियो भने ६६ जना बेपत्ता र ५ सय ३२ जना घाइते भएका थिए । उक्त अवधीमा १२ लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

मौसम विभागका अनुसार यो वर्ष देशका विभिन्न भूभागमा ३५ देखि ६५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको छ । विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार ५५ देखि ६५ प्रतिशत भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ भने ३५ देखि ४५ प्रतिशत क्षेत्रमा पनि बढी पानी पर्ने सम्भावना देखिएको छ । त्यसैगरी तापक्रम पनि विगत वर्षको तुलनामा उच्च हुने अनुमान गरिएको छ । अधिकतम तापक्रम अधिकांश क्षेत्रमा सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमै हुने भएकाले बाढी, पहिरो र डुबानजस्ता प्रकोपका लागि सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘१२ महिनामध्ये ४० प्रतिशत प्राकृतिक विपद् मनसुन समयमा हुने भएकाले जोखिम न्यूनीकरणका लागि सबै निकाय सतर्क रहनुपर्छ । समयमै पूर्वतयारी गरे विपद् न्यूनीकरणमा ठूलो योगदान पुग्छ ।’
विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको वर्षा दर उल्लेख्य वृद्धि हुने अनुमान छ । अघिल्लो वर्षको मनसुन अवधिमा १,३०३ मिलिमिटर वर्षा भएकोमा यो वर्ष औसत १,४७२ मिलिमिटर पुग्ने अपेक्षा गरिएको छ । गत वर्ष धेरै स्थानमा कम वर्षा भएको थियो भने काठमाडौं, वरपरका जिल्लाहरूमा अत्यधिक वर्षा मापन गरिएको थियो ।

विपद् जोखिम न्यूनीकरणमा राज्य संयन्त्रको तयारी
मनसुनजन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारीलाई तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य कमान्ड सेन्टर बनाएर तुरुन्तै उद्धार, राहत र पुनःस्थापनामा जुट्ने गरी कार्ययोजना बनाइएको र केही दिनभित्रै कार्ययोजना अन्तिम हुनेछ– केसीले भन्नुभयो ।

सुरक्षा निकायको तयारी
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले मनसुन अवधिभरका लागि उद्धार तथा राहत कार्यमा ३५ हजार जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले बाढी, पहिरो प्रभावित क्षेत्रमा खटिन सक्ने गरी आवश्यक औजारसहितका टोली तयारी अवस्थामा राखेका छौं । हेलिकोप्टरसहितका हवाई साधन पनि तयारी अवस्थामा राखिएको छ ।’
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि ३२ हजार प्रहरी जनशक्ति खटिन सक्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले विपद् पूर्वतयारी तालिमदेखि आपतकालीन उद्धार टोली गठन गरिसकेका छौं । आवश्यक ठाउँमा थप जनशक्ति खटाउने योजनामा छौं ।’
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कालिदास धौवजीले १५ हजार जनशक्ति र १ हजार ५० थान उद्धार उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मनसुनमा आउने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी सधैं अग्रमोर्चामा रहने छ । हेलिकोप्टर, विपद् व्यवस्थापनका उपकरणहरू तयारी अवस्थामा छन् ।’

गत वर्ष २ हजार १ सय ३६ मनसुनजन्य घटना भएका थिए । यसबाट ५ हजार ९ सय ३७ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएकोे छ । गत वर्ष ३ सय ९७ स्थानमा बाढीले क्षति पु¥याएको थियो । जसमा ९० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता र ४५ जना घाइते भएका थिए । जसबाट २ हजार २ सय २७ परिवार प्रभावित भएका थिए । गत वर्षको मनसुन अवधिमा ९ सय ४३ स्थानमा पहिरो गएको थियो भने जसबाट ३ सय ४३ जनाको मृत्यु, ४८ जना बेपत्ता, २ सय ७६ जना घाइते र १ हजार ५ सय ६१ परिवार प्रत्यक्ष प्रभावित बनेका थिए ।
गत वर्ष भारी वर्षा भएको थियो । गत वर्ष ५ सय ३८ स्थानमा भारी वर्षा भएको तथ्यांक प्राधिकरणले जानकारी दिएको छ । जसबाट ९ जनाको मृत्यु भयो भने ३८ जना घाइते भएका थिए । भारी वर्षाबाट १ हजार ८ सय १४ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ । बाढी, पहिरो, चट्याङ, भारी वर्षाका कारण ४ सय ५९ वटा पहिरो, १ सय ४२ वटा बाढी, १ सय ६८ वटा भारी वर्षा र १ सय २३ वटा चट्याङका घटना भएका थिए ।
यसैबीच,सरकारले आगामी बैठकमार्फत मनसुनमा उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको तयारी र तीनै तहका सरकार तथा सरोकार निकायको समन्वयसहितको विस्तृत कार्ययोजना पारित गर्ने तयारी गरेको छ ।
यस वर्षको मनसुन औसतभन्दा बढी हुने प्रक्षेपणसँगै जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । बाढी, पहिरो, डुबानलगायतका जोखिम व्यवस्थापनमा राज्य संयन्त्रको सतर्कता र तीनै तहका सरकारबीचको समन्वय मत्वपूर्ण हुने देखिन्छ । जनसाधारणलाई सचेत रहनुका साथै सरकारी निकायको समयमै सक्रियता नै सम्भावित क्षतिको न्यूनीकरणको प्रमुख उपाय हुने विज्ञहरूको धारणा छ ।