पुरानो ‘फ्रीक स्ट्रिट’ को कथा: जब काठमाडौंको झोछें हिप्पीहरुको प्रमुख गन्तब्य बन्यो

1.03k
Shares

एक समय थियो, जब काठमाडौं उपत्यकाको मुटुमा रहेको हनुमानढोका दरबार स्क्वायरको ठीक दक्षिणतिर धूप, संगीत र क्रान्तिको गन्धले भरिएको एउटा साँघुरो सडक पर्यटकहरुको मुख्य गन्तब्य हुने गथ्र्यो । त्यस सडकको नाम थियो झोछें टोल । एकैप्रकारको लहरै घरहरु अर्थात नेपाल भाषामा ‘झ्वलिक्क छें’ अप्रभंस भएर झोछें भन्न थालिएको हो । युगौँदेखि इतिहास बोकेको त्यो सडक केही दशक विश्वभरका युवाहरूका लागि ‘फ्रिक स्ट्रीट’ नामले परिचित बन्यो ।

सन १९६० को दशकमा पश्चिमी संसार युद्ध, निराशा र समाजिक जटिलतासँग संघर्ष गरिरहेको बेला युवाहरुमा शान्ति, उद्देश्य र आत्मान्वेषणको खोजी गर्ने एउटा लहर चलेको थियो । । उनीहरूले उक्त लहर यात्राको रुपमा चिनिंदै गयो । जसलाई “हिप्पी ट्रेल” भनियो । हिप्पी ट्रेल केवल एउटा यात्रा गर्ने मार्ग मात्र थिएन, एउटा सांस्कृतिक आन्दोलन थियो । एम्स्टर्डामका गल्लीदेखि काठमाडौंका मठ–मन्दिरसम्म फैलिएको कथाहरू, विश्वास, संगीत, र मानवताको प्रवाही चित्रपट थियो त्यो । जसले युरोपबाट पूर्वतर्फ डो¥याउँथ्यो र थुप्रै यात्रुहरूको अन्तिम गन्तव्य बन्थ्यो काठमाडौं ।

त्यसबेला काठमाडौं पूर्वीय आध्यात्मिक स्वर्गको केन्द्र थियो । जहाँ संसार जीवन्त लाग्थ्यो, प्रार्थना र मन्दिरहरूबाट गुञ्जिने ‘हरे राम हरे कृष्ण’ लगायतका अन्य मन्त्रहरू र पूर्व–पश्चिमको सांस्कृतिक संगम त छँदै थियो, तर मुख्य आकर्षण भनेको कानूनी रूपमा खुल्लम खुला विक्री हुने गाँजा थियो । अमेरिका र भियतनाम युद्धमा फसेको थियो, युरोपका सडकहरूमा विद्रोहको आवाज गुञ्जिरहेको थियो । अनि ती आवाजबीच म को हुँ? जीवनको अर्थ के हो? भन्ने प्रश्न युवाहरूको मनमा उठेको थियो । त्यसैको जवाफ खोज्दै कपालमा फूल सजाएर, झोला बोकेर, हजारौं युवा–युवतीहरू हिप्पी ट्रेल हुँदै पूर्वतिर ओईरिएका थिए ।

हिप्पी ट्रेल केवल मार्ग थिएन, त्यो थियो मन र आत्माको खोज । युरोपेली सहरहरू, इस्तानबुलका गल्लीहरू, अफगानिस्तानको काबुल, भारतको बनारस हुँदै त्यो यात्रा अन्ततः नेपालको राजधानी काठमाडौंको एउटा साँघुरो सडकमा आएर टुंगिन्थ्यो । त्यस सडकको नाम हो झोछें टोल, जसलाई संसारले चिन्यो फ्रीक स्ट्रिट भनेर । उनीहरूलाई लक्षित गर्दै सरकारले त एयरपोर्ट र सीमाबाट सोझै बस सेवा नै चलाउँथे “टू फ्रिक स्ट्रीट” भनेर । त्यसपछि फ्रीक स्ट्रिट बन्दै गयो एउटा रंगीन स्वर्ग, जहाँ गाँजाको सुवाससँगै गितारका धुनहरू, दार्शनिक बहसहरू र विविध संस्कृतिहरूको हाँसो मिस्सिन्थे ।

त्यसताका झोछें कुनै सामान्य सडक थिएन । एक युगको प्रतिनिधि थियो । जहाँ धूप र ह्यासिस (गाँजा) को गन्ध मिस्सिन्थ्यो । मन्दिरहरूबाट मन्त्र गुञ्जिन्थे र पश्चिमाहरुले क्याफेहरूबाट गितारका धुनहरू बजाईरहन्थे । गीता र बीटल्स एउटै मेनुमा भेटिन्थे । फ्रीक स्ट्रिटमा जीवन, संगीत, दर्शन र संस्कृति मिसिएको थियो । एउटै भित्तामा बुद्धको चित्रसँग जिमी हेन्ड्रिक्सको पोस्टर टाँसिन्थ्यो । फ्रिक स्ट्रीटको सबैभन्दा अनौठो यथार्थ भनेको चिया पसलहरू विश्वविद्यालयजस्तै बन्थे । जहाँ प्रेम, चेतना र ब्रह्माण्डमाथि बहस चल्थ्यो ।

गाँजा खुलेआम सरकारी इजाजतपत्रसहित बिक्री हुन्थ्यो । त्यही भएर अमेरिका, फ्रान्स, जापान, क्यानाडा र संसारका कुनाकाप्चाबाट हिप्पीहरू काठमाडौं आइपुग्थे । झोलामा कागजी नक्सा हुन्थे, मनमा गहिरो प्यास । फ्रीक स्ट्रिटमा सबै कुरा थियो । मुक्ति, संगीत, प्रेम, स्वाद, विचार र अनुभवहरूको स्वतन्त्र जमघट । जहाँ समय स्थिरजस्तै बन्थ्यो, बिहान र साँझको भिन्नता हराए सरि । सडकछेउको पसलमा नेपाली र विदेशीहरू धुवाँमा हराइरहेका हुन्थे भने कोही नशामा मग्न हुन्थे ।

हिप्पी स्वर्गको पतन

सन १९७० को दशकको अन्त्यतिर परिवर्तन आयो । अमेरिकाबाट दवाब बढ्न थाल्यो । नेपाल सरकारले पहिले स्वागत गरेका हिप्पीहरूलाई अब असहज नजरले हेर्न थाले । छापा पर्न थाले, गाँजा पसलहरू बन्द गरिए, कपडाको नियम लागु गरियो, अनुहार हेरेरै मूल्यांकन गर्न थालिए । धेरैजसो हिप्पीहरूलाई देश निकाला गरियो । यात्रुहरू हराउँदै गए । कोही भारत, कोही थाइल्याण्ड तर्फ अनि कोही चुपचाप घर फर्किए । लामो दा¥ही अनि ननुहाएर जटा परेको लामो कपाल भएका ती यात्रुहरू क्षितिज पार हराउँदै गए । फ्रीक स्ट्रिट ती सबै दृश्यका मौन साक्षी बने । तर, उनीहरूले छोडेको छायाँ, त्यो अनुभूति अझै हराएको छैन ।

आजको झोछें पहिले जस्तो छैन । जहाँ चिलम र चिया पसल हुन्थे, अहिले फास्ट फुड, रेस्टोटेन्ट र अग्र्यानिक कफी पसल खुलेका छन् । जहाँ बहस हुन्थ्यो, अहिले ‘पÞ्रmी वाईफाई’ लेखिएको बोर्ड देखिन्छ । अहिलेको पर्यटक स्वतन्त्रताको खोजीमा होईन, पहाड, सम्पदा र मठहरूको लोभमा ओइरिन्छन । पुरानो फ्रीक स्ट्रिट अब त्यो परिको कथा जस्तो छैन जहाँ हिप्पी पर्यटकहरुको भीड लाग्ने गथ्र्यो । ८० को दशकमा ठमेलको उदय भयो । अनि ठमेल त्यस्तो पर्यटन केन्द्र बन्यो जसले फ्रीक स्ट्रिटलाई ओझेलमा पा¥यो ।

अहिले पुरानो फ्रीक स्ट्रिट आफ्नै छायाँमा हराए जस्तो देखिन्छ । तर, यसको आत्मा भने मरेको छैन । यसको कथा अझै बाँचेको छ । साँझ फ्रीक स्ट्रिटतिर हिँड्नुहुन्छ भने तपाईंलाई लाग्न सक्छ कुनै पुरानो गीत हावामा बजिरहेको छ, कुनै बिर्सिएको गन्ध फेरि चिउँडो छुन आइपुगेको छ । त्यो अनुभूति, त्यो नशा अझै हराएको छैन । आजका युवाहरूका लागि फ्रीक स्ट्रिट केवल गाइडबुकको पानामा पढिने नाम हुन सक्छ । तर, यो केवल एउटा सडक थिएन । प्रेम, विद्रोह, संगीत, ध्यान, धुवाँ र जीवनको खोज भित्र समाहित एउटा युगको मुटु थियो ।