काठमाडौं ।
सरकारले विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको सरुवा गरेको छ । सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले ती सचिवहरूको सरुवा गरेको हो ।
सरुवा गरिएकाहरूमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा सरुवा भएर आएका सचिव किरणराज शर्मा आयोगको प्रवक्ताको रूपमा रहँदा आयोगको छवि उच्च राख्न र त्यतिबेला आयोगमा उत्पन्न संकट समाधान गर्न महत्वपूर्ण भूमिमा खेल्नुभएको थियो । उहाँले प्रवक्ताको रूपमा रहदा आयोगमा थुप्रै सुधारका प्रयासहरू थाल्नुभएको थियो । सचिवको रूपमा आउनुभएका अनुभवी शर्माले आयोगको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, शिक्षाका दिपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयमा आउनुभएका पौडेल शिक्षा क्षेत्रका अनुभवी र क्याडर हुनुहुन्छ । राष्ट्रपति कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा ल्याइएको छ । स्वच्छ छविका घिमिरे सुधारक प्रशासकको रूपमा रहनुभएको छ ।
हालै सचिवमा नियुक्त भएका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा र सोमबार मात्रै सचिवमा बढुवा भएका भूपाल बराललाई वागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । यसै गरी प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै, वागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा र लोकसेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयमा आएका शर्मा पनि इमान्दार र स्वच्छ छविका प्रशासकका रूपमा रहनुभएको छ ।











प्रतिक्रिया