जहाँ मध्यरातमा सूर्य अस्ताउँदैन

2.35k
Shares

कल्पना गर्नुहोस् त्यस्तो भूमि, जहाँ घडीले मध्यरातको संकेत गर्दा पनि आकाशमा सुनौलो सूर्य हाँसिरहेको हुन्छ । हावामा हल्का चिसो, तर अनुहारमा सूर्यको न्यानो स्पर्श हुन्छ । कुनै चलचित्रको दृश्य जस्तो लाग्न सक्छ यो । तर, यो कुनै कल्पना होइन, यो हो “मिडनाइट सन” अर्थात् मध्यरातको घाम । एउटा अद्भूत प्राकृतिक चमत्कार, जहाँ दिन र रातको सीमाना हराउँछ । जगजाहेर नै छ गर्मीमा दिन लामो र रात छोटो हुन्छ भनेर । तर, सोच्नुहोस् यदि रात नआएर दिन निरन्तर चलिरह्यो भने कस्तो अनुभव होला त । पृथ्वीको आर्कटिक सर्कल भन्दा माथिका स्थानहरूमा गर्मीको समयमा पनि सूर्य दिनहुँ जस्तै आकाशमा घुमिरहन्छ । हप्तौँ वा कहिलेकाहीँ महिनौँसम्म घाम अस्ताउँदैन । बिहानको ब्रेकफास्ट, दिउँसोको लन्च र मध्यरातको डिनर सबै एकैनासको उज्यालोमा निरन्तर चलिरहन्छ ।
किन अस्ताउँदैन त सूर्य ?

पृथ्वी आफ्नो अक्षमा झुकेर घुमिरहेको हुन्छ । लगभग २३ दशमलव ५ डिग्री कोणमा । यही झुकाइले गर्दा गर्मी, जाडो, वसन्त र वर्षायामको सिर्जना हुन्छ । तर, पृथ्वीको ध्रुवको कथा भने बेग्लै छ । त्यहाँ सूर्य वर्षमा एकचोटि मात्र उदाउँछ र अस्ताउँछ । उत्तरी ध्रुवमा गर्मीको ६ महिना सूर्य आकाशमै रहन्छ । साँझ पर्दैन, रातलाई पर्खनुपर्दैन । तर, जाडोमा भने त्यो उज्यालो लुक्छ र अँध्यारोले आफ्नो साम्राज्य चलाउँछ ।

दिन र रात एउटै हुने भएपनि ती स्थानका बासिन्दाहरूलाई भने यस्तो जीवनशैली सामान्य बनिसकेको छ । तर, आगन्तुकहरूका लागि भने उज्याला रातहरू अनौठो लाग्न सक्छ । निद्रा आउँदैन, घडी हेर्दा रातको २ बजेको हुन्छ तर कोठा दिनको जस्तै उज्यालो । धेरैले ब्ल्याकआउट, स्लिप मास्क र ध्वनि नियन्त्रण गर्दै कृत्रिम “रात” सिर्जना गरेर २४ घन्टे दैनिकी चलाउँछन् । त्यसको विपरित ‘पोलार नाइट’ प्रारम्भ भएपछि भने सूर्य हप्तौँसम्म देखिँदैन । त्यसबेला प्रायः मानिसहरू उज्यालोको पर्खाइमा चियाको सिप तान्दै, किताब पढ्दै समय बिताउँछन् । प्रकृतिप्रेमी फोटोग्राफर, घुमन्ते वा अद्भूत अनुभव खोज्ने व्यक्तिका लागि भने ‘मिडनाइट सन’ देखिने देशहरू प्रमुख गन्तव्य बन्न सक्छ ।

रातको समयमा सूर्य नअस्ताउने स्थान :

स्वालबार्ड, (नर्वे) : अप्रिल १० देखि अगस्ट २३ सम्म यहाँ सूर्य अस्ताउँदैन ।

उत्तरी नर्वे : ट्रोम्सो, नोर्डकपजस्ता शहरहरूमा लगातार सूर्यको प्रकाश देखिन्छ ।

ल्यापल्याण्ड (स्वीडेन र फिनल्याण्ड) : मे महिनादेखि अगस्टसम्म दिनले विश्राम लिँदैन ।

आइसल्यान्ड : बर्फीला गुफा र मध्यरातमा चम्कने आकाशले गर्दा यो देश काल्पनिक संसार झैँ हुने गर्छ ।

अलास्का (अमेरिका) : बारो (उत्कियाग्विक) मा अप्रिलको अन्त्यदेखि अगस्टको शुरू सम्म सूर्य अस्ताउँदैन ।

क्यानाडा : नुनाभुट लगायतका क्षेत्रहरूमा जुनदेखि सेप्टेम्बरसम्म सूर्य २४ सै घण्टा चम्कन्छ ।

ग्रीनल्यान्ड : आर्कटिक सर्कलको विशाल बर्फीला टुक्राले पनि दिन र रातको सिमानामुक्त यात्रा गराउँछ ।

रूस : मर्मान्स्क, नोर्लिस्कजस्ता शहरहरूमा सूर्य हप्तौँसम्म अस्ताउँदैन ।