नयाँ गभर्नरले सेयर लगानीकर्तालाई फकाउने प्रयास


काठमाडौँ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सेयर लगानीकर्ताको विश्वास जित्ने प्रयास गर्दै मौद्रिक नीतिको समीक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जासम्बन्धी जोखिम भार घटाउने निर्णय गरेकाले लगानीकर्ताको विश्वास जित्ने प्रयासका रुपमा हेरिएको हो ।

अब ५० लाख रुपियाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याइएको हो । यसअघि ५० लाखसम्मको कर्जामा जोखिम भार पहिले नै १०० प्रतिशतमा झारिएको थियो ।

राष्ट्र बैंकले सन् २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा जोखिम भार बढाएर १५० प्रतिशत पु¥याएको थियो। पछिल्लो समय सेयर बजार स्थिर बन्दै गएको, जोखिम घटेको, तरलता सहज हुन थालेको र कर्जा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित जोखिम भार घटाइएको हो ।

त्यस्तै राष्ट्र बैंकले विदेशी लगानीको प्रवाहलाई प्रोत्साहन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्था समावेश गरी ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने बताएको छ।

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दर ६.५ प्रतिशत यथावत राखेको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात पनि यथास्थानमै राखिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ९० प्रतिशत दैनिक नगद मौज्दात कायम राख्नुपर्ने नयाँ व्यवस्था लागू गरिने उल्लेख छ ।

त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार चेक अनादरसम्बन्धी प्रमाणित गर्ने कार्यविधि पनि राष्ट्र बैंकले तयार पार्ने जनाएको छ ।