आदिकवि भानुभक्त आचार्यले आफ्नो कवितामा जसरी “अल्कापुरी कान्तिपुरी नगरी” भनेर गौरवका साथ वर्णन गरेका थिए, र ब्रिटिश इतिहासकार विलियम किर्कप्याट्रिकले सन् १७९३ मा “झन्डै जति घरहरू छन्, त्यति नै मन्दिरहरू छन् र जति मानिसहरू छन्, त्यति नै मूर्तिहरू छन” भनेर चित्रण गरेका थिए, त्यही काठमाडौँ उपत्यकाले आज पनि ऐतिहासिक गौरव, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको अद्भुत संगम बनेर विश्वभरका पर्यटकलाई मुग्ध तुल्याइरहेको छ ।
ईटालीको राजधानी रोम सहर, जुन सातवटा पहाडबीच फैलिएको छ, काठमाडौँ उपत्यका पनि नागार्जुन, शिवपुरी, फुलचोकी र चन्द्रागिरीजस्ता हरियालीले भरिएका चार प्रमुख पहाडहरूको काखमा अँगालो हालेर बसेको छ । यो उपत्यका जसलाई “पहाडी सहर” भनेर चिनिन्छ, समुद्री सतहदेखि करिब १३२४ मिटर (४३४४ फिट) उँचाइमा अवस्थित छ । न अत्यधिक उँचाइ, न त होचो, शारीरिक स्वास्थ्यका लागि उपयुक्त र आत्म–शान्तिका लागि स्वर्गीय । बिहानीको घामसँगै उत्तरतर्फ फैलिएको चाँदीजस्तो टल्किने हिमशृंखलाको मनोरम दृश्यले उपत्यकालाई अझ दिव्य बनाएको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक गाथा र विविध साँस्कृतिक समन्वयले भरिएको काठमाडौँ उपत्यका साँच्चै नै एक चमत्कारी गन्तव्य हो, जहाँ हरेक गल्लीले ईतिहास सुनाउँछ, हरेक धरोहरले आत्मा छुन्छ र हरेक संस्कृतिमा सुगन्ध मिसिएको छ ।
नेपालको मौसम मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्म विशेष अनुकूल हुने भएकाले यो समय उपत्यका भ्रमणको लागि पनि उत्कृष्ट मानिन्छ । काठमाडौं उपत्यका केवल भौगोलिक क्षेत्र होइन, एक गहिरो सांस्कृतिक अनुभव पनि हो । यो उपत्यका विशेषतः नेपालका तीन प्रमुख प्राचीन सहरहरू काठमाडौं, ललितपुर र भक्तपुरको संयोजन हो, जहाँ हजारौं वर्ष पुराना कला, वास्तुकला र परम्पराहरू आज पनि जीवन्त छन् । विदेशी तथा स्वदेशी पर्यटकहरूका लागि यहाँको ऐतिहासिक सम्पदा, धार्मिक स्थल, नेवारी संस्कृतिको जात्रा–पर्व, खानपान र भेषभूषा आकर्षणका केन्द्र हुन् । काठमाडौं उपत्यका सातवटा युनेस्को विश्व सम्पदा स्थलहरूले भरिएको छ, जसले नेपालको गौरवशाली सभ्यता, धर्म र संस्कृतिलाई समेटेको छ । कोही अध्यात्म खोज्ने यात्री होस् वा ईतिहासप्रेमी, काठमाडौं उपत्यकाले एकपटक होइन, पटक–पटक आउन बाध्य बनाउँछ ।
युनेस्कोमा सूचीकृत काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा :
काठमाडौं दरवार क्षेत्र (हनुमानढोका)
काठमाडौं शहरको मुटुमा अवस्थित हनुमानढोका दरवार क्षेत्र नेपालका मल्ल राजा र शाह वंशका राजाहरूको ऐतिहासिक बसोबास स्थल हो । यहाँ रहेको नौतले दरबार, वसन्तपुर दरबार, कुमारी घर, तलेजु मन्दिर, कालभैरव लगायतका ऐतिहासिक संरचनाहरू नेपाली वास्तुकला र कलाको उत्कृष्ट नमुना हुन् । विशेषगरी जीवित देवी कुमारीलाई दर्शन गर्न पर्यटकहरूको भीड लाग्ने गर्छ । बर्सेनि मनाइने इन्द्रजात्रा, गाईजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा, दशैंमा तलेजु पूजा, होलीमा ठड्याइने चीर र अन्य उत्सवहरूले यस क्षेत्रको सांस्कृतिक र धार्मिक महत्व झल्काउँछन् ।
पाटन दरबार क्षेत्र (ललितपुर)
पाटन, जसलाई ललितपुर पनि भनिन्छ । नेवारी शिल्पकला र वास्तुकलाको केन्द्रको रूपमा चिनिन्छ । यहाँको कृष्ण मन्दिर जो पुरै पत्थरमा निर्मित छ, नेपालमा अद्वितीय छ । यसबाहेक, भीमसेन मन्दिर, हरिशंकर मन्दिर, मणिगल बजारको हिरण्यवर्ण महाविहार (स्वर्ण महाविहार) लगायतका स्थलहरू पनि यहाँको धार्मिक र सांस्कृतिक गहना हुन् । पाटन दरबार संग्रहालयमा राखिएका ऐतिहासिक मूर्तिहरू, धार्मिक वस्तुहरू र चित्रकलाहरू विदेशी पर्यटकहरूका लागि अत्यन्तै आकर्षक छन् । पाटनका गल्लीहरूमा अझै पनि परम्परागत नेवारी शिल्पकला उत्पादन भइरहेका छन् । ढलोटमा ढलिएका मूर्ति, काठका झ्याल, धातुका दीप आदि हेर्दै गर्दा यो शहरले आफ्नो पुरानो मुहार आज पनि जोगाइरहेको अनुभूति हुन्छ ।
भक्तपुर दरबार क्षेत्र
भक्तपुरलाई ‘मध्यकालीन’ सहर भनेर चिनिन्छ । यहाँ प्रवेश गरेपछि लाग्छ, समय रोकिएको छ । ५५ झ्याले दरवार, न्यातपोल मन्दिर, भैरवनाथ मन्दिर, दरवार स्क्वायर, पोखरीहरू र सांस्कृतिक उत्सवहरूले भरिएको यो शहर पुरानो नेपालको जीवनशैलीलाई जिउँदो रुपमा दर्शाउँछ । भक्तपुरको बिस्काः जात्रा, गाईजात्रा, जुजु धौ (नेवारी स्वादिष्ट दही) र हातले बनेका माटोका भाँडाहरू यहाँको विशेषता हुन् । नेपाली संस्कृतिको मौलिकता महसुस गर्न चाहने पर्यटकका लागि भक्तपुर स्वर्ग नै हो ।
स्वयम्भूनाथ स्तुप
काठमाडौं उपत्यकाको पश्चिममा रहेको स्वयम्भूनाथ स्तुप बौद्ध धर्मको अत्यन्त पवित्र स्थल हो । हजारौँ वर्ष पुरानो यो स्तुपलाई “स्वयम्भू” भनेर सम्बोधन गरिन्छ, जसको अर्थ आफैँ उत्पन्न भएको हो । टाकुरोमा रहेको यो स्तुपाबाट काठमाडौं शहरको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ रहेको बुद्धको आँखा, प्रार्थना ध्वजाहरू, लामाहरूको पूजा विधि, बाँदरहरूको गतिविधि सबैले मिलेर पर्यटकलाई अध्यात्म र जीवन्त संस्कृतिको मिश्रण प्रदान गर्छ ।
बौद्धनाथ स्तुप
बौद्धनाथ, काठमाडौंको पूर्वी भागमा अवस्थित विशाल गोलाकार स्तुप हो । जुन बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्त पवित्र तीर्थस्थल हो । यो स्तुप आसपास हस्तकला पसल, गुम्बा, र मठहरू पाइन्छन् । बौद्धनाथको वातावरण शान्त र ध्यानमय हुन्छ । साँझपख यहाँ हजारौँ दिप र बत्ती बलेका देखिन्छन् र स्तुप वरिपरि मानिसहरू माला फेरिरहन्छन् । यो दृश्य पर्यटकका लागि शान्तिको अनुभव हो ।
पशुपतिनाथ मन्दिर
बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मको प्रमुख तीर्थस्थल हो । यो मन्दिरमा विशेषगरी महाशिवरात्रिमा लाखौँ भक्तजन भेला हुने गर्छन् । यहाँको आरती, अन्त्येष्टि संस्कार, र मन्दिरका पुजारीहरूको नित्यकर्म पर्यटकहरूका लागि रहस्यमय अनुभव हो । पशुपतिनाथको पवित्रता र महत्वले गर्दा विदेशीहरूलाई नेपाली मृत्यु संस्कार, जीवन दृष्टिकोण र अध्यात्म बुझ्न सहयोग गर्छ ।
चाँगुनारायण
काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित चाँगुनारायण मन्दिर नेपालको सबैभन्दा पुरानो हिन्दू मन्दिर मानिन्छ । यो मन्दिर विष्णु भगवानलाई समर्पित छ र यहाँ लिच्छवि वंशका शिलालेख, मूर्तिकला र स्थापत्यकला देख्न सकिन्छ । चाँगुनारायण तुलनात्मक रूपमा शान्त र कम भीडभाड भएको स्थान हो, जहाँबाट भक्तपुर र आसपासका गाउँको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अध्यात्मिक शान्ति चाहने पर्यटकका लागि चाँगुनारायण उपयुक्त गन्तव्य हो ।











प्रतिक्रिया