७५३ स्थानीय तहमा अनिवार्य फर्मासिष्टको दरबन्दी व्यवस्था गर्न सुझाव 

५ वर्षको अवधिमा बुटवलमा राजश्वको दर नबढाउने : मेयर पाण्डे

1.22k
Shares

बुटवल।   

नेपाल फार्मेसी संघ रुपन्देहीको शनिवार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताए । उनले हरेक पालिकाले कम्तीमा एकजना फर्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्न आग्रह गरे । 

उनले बुटवल उपमहानगरपालिकाका १९ वटा वडा मध्ये १८ वटा वडामा करारमै भएपनि फर्मासिष्ट राखिएको बताउँदै दरवन्दी नहुँदा स्वास्थ्यका क्षेत्रमा धेरै समस्या भोग्नुपरेको भनाई राखे । 

बुटवल उपमहानगरपालिकामा पेचिलो बनेको विज्ञापन करका विषयमा आगामी वर्षदेखि त्यसमा कुनै समस्या नआउने गरी गृहकार्य गरिने बताए । उनले आफनो ५ वर्षको अवधिमा बुटवल उपमहानगरपालिकाले राजश्वको दर नबढाउने प्रष्ट परे ।

कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले औषधि पसल सञ्चालनका लागि अनिवार्य रहेको फार्मेसी लाईसेन्स अरुको लिएर पसल सञ्चालन गर्ने विकृति रहेको बताउँदै उक्त विकृति हटाउन आफूहरु प्रतिवद्ध रहेको र नियमन तथा अनुगमनको पाटोलाई पनि कडाईका लागि अगाडि बढाउन आग्रह गरे । 

त्यसैगरी फार्मेसी संघका कन्द्रीय महासचिव युवराज भुसालले औषधि हुने सबै ठाउँमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिँदै फर्मासिष्टले व्यापार व्यवसाय भन्दा पनि नागरिक सेवालाई प्राथमिकता दिनुपर्ने भनाई राखे ।

नेपाल फार्मेसी संघका अध्यक्ष गणेश सेढाईको सभापतित्वमा भएको कार्यक्रममा औषधी व्यवसायी सुनिल श्रेष्ठ, ध्रुवकुमार शर्मा, नारायण थापा, मायाँदेवी टेक्निकल कलेजका प्रवन्ध निर्देशक चिरञ्जिवी जोशी, संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, कपिलबस्तु अध्यक्ष डा.बिक्रम घिमिरे, रुपन्देहीका उपाध्यक्ष चोकलाल सापकोटा, सचिव उदयबहादुर खत्री लगायतले भनाई राखेका थिए । नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटो अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।