विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै  धर्ना, माग नसुने कडा आन्दोलन गर्ने चेतावनी

विमानस्थलको  ८0 अर्ब बढीको लगानी जोखिममा 

2.63k
Shares

बुटवल। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै बुधवार विमानस्थल अगाडी १ घण्टा धर्ना प्रदर्शन गरिएको छ । 

विमानस्थल सञ्चालन नहुँदा यहाँका व्यवसायीहरुले भोगेका समस्यालाई गायिका गंगा घिमिरेले गीत गाएर पीडा सुनाएकी थिइन् । विमानस्थल सञ्चालनको आशामा ठूलो लगानी लगाएका लगानीकर्ताहरूको पिरलाई समेटेर गाईएको गीतले बोलिरहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले दिएको वाचा पुरा नगरेको भन्दै निजिक्षेत्र फेरि आन्दोलित भएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल देखेर लगानी गरेकाको लगानी डुब्ने जोखिम बढेको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्व अध्यक्ष, नारायण प्रसाद भण्डारी गुनासो गरे । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासीनताको कारण यहाँ  ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य गुनासो गरे । 

सरकारले पटक पटक विमानस्थल सञ्चालन गर्ने वाचा दिए पनि त्यो पुरा गराउन नसकेको व्यवसायीहरुको आरोप रहेको छ । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार श्रोतको व्यवस्थापन गर्न निजी क्षेत्रले माग राखेका छन् । यसबारे ज्ञापन पत्र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने पूर्व निर्धारित कार्यक्रम थियो । तर महाप्रबन्धक ज्ञापनपत्र बुझ्न बाटोमा नआएपछि व्यवसायीहरू आक्रोशित भएका थिए । 

आन्दोलित व्यवसायीहरुले ज्ञापनपत्र सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । ज्ञापन पत्रमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गरिनुपर्नेे माग सारेका छन् । निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने निति तथा सहजीकरण कर छुट, सेवा शुल्क छुट गर्न र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शीघ्र समाधान गर्न माग गरिएको छ ।

विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने माग पुरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी व्यवसायीले दिएका छन् । उद्योग व्यापार संगठन , चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।