गाउँपालिकाका कार्यालय सहयोगी मृत फेला

3.38k
Shares

खोटाङ। 

 खोटाङस्थित रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत फेला परेका छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा सोमबार मृत फेला परेका हुन् ।
 
 गोरेटो बाटोबाट करिब ८-९ मिटर तल मृत फेला परेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जनाए । मृतक रेग्मी गए राति दाजुको घरबाट करिब साढे ८ बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । 

मृतक रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुग्नुभएका रेग्मीको श्रीमतीसहित चार छोरी र एक छोरा छन् । मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश लिने अवस्थामा रहेको जनाइएको छ । 

 वैशाख–७ गते बिहान घरमा आफन्तहरुसँगै खाना खाएर कार्यालय गएका  रेग्मी बेलुका घर नपुग्दै बाटैमा मृत फेला परेको उल्लेख छ ।