जिम्मेवारी बोध गर


गणतन्त्र स्थापना भएको डेढ दशक बितिसक्दा पनि देशले स्थायित्व, सुशासन र जनउत्तरदायी व्यवस्था पाएको छैन । जनता निराश छन्, शासन प्रणालीमाथि अविश्वास गहिरिँदो छ र यही असन्तोषका छायामा अहिले ‘राजतन्त्र फर्काऔं’ भन्ने स्वरहरू गुञ्जिन थालेका छन् ।

तर प्रश्न के हो भने, के गणतन्त्र असफल भयो भनेर फेरि तानाशाही राजतन्त्रमै फर्किनु बुद्धिमानी हो ? यो अहं प्रश्नको रुपमा देखा परेको छ । गणतन्त्र जनताको रगतले लेखिएको व्यवस्था हो । यो कुनै नेताले दिएको दान होइन । तर आज यस्ता नेताहरूले नै गणतन्त्रलाई गिज्याइरहेका छन् ।

जनताले भरोसा गरेर चुनेका प्रतिनिधि भ्रष्टाचारमा लिप्त छन्, जनचासोभन्दा पनि पद र शक्तिको खेलमा लिप्त छन् । संसदीय लोकतन्त्रको नाममा दलहरू बारम्बार सत्ता साटासाटमा रमाइरहेका छन् । यस्तो अवस्थामा जनतामा वितृष्णा हुनु नौलो कुरा होइन । यसैको फाइदा उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले च्याँखे दाउ थाप्न शुरु गरेका छन् । यता पूर्वपञ्च र दलहरुप्रति वितृष्णा फैलिएकाहरु अहिले राजतन्त्रको पक्षमा वकालत गर्दै हिँड्न थालेको पाइन्छ । यो पक्कै पनि सुखद कुरा होइन । यही असन्तोषलाई केही शक्तिहरूले राजतन्त्र फर्काउने बहानामा प्रयोग गर्न थालेका छन् ।

राजतन्त्रको नाममा हामीमाथि वर्षौं शासन गरियो ? राजालाई ‘देवता’को रूपमा राखिएको व्यवस्था थियो, जहाँ जनताको मत होइन, शाही इच्छाले देश चल्थ्यो । प्रजा मात्र बनाइएका नागरिक आज फेरि त्यसै व्यवस्थाको कल्पनामा रमाउन थालेका छन् भने त्यो इतिहासप्रति तिरस्कार हो ।

मुलुकले जुन गतिले फड्को मार्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । राजतन्त्रमा स्थायित्व थियो भन्ने तर्क गरिन्छ । हो, स्थायित्व त थियो, निरंकुशताको स्थायित्व । त्यो स्थायित्वको नाममा अभिव्यक्ति स्वतन्त्रता कुल्चिएको थियो, दलहरूलाई प्रतिबन्ध लगाइएको थियो र जनआवाज दबाइएको थियो । आज त्यसै तानाशाहीको सौन्दर्यीकरण गर्नु भनेको इतिहासको अपमान गर्नु हो । गणतन्त्रको समस्या व्यवस्थामा होइन, नेतृत्वमा छ । पात्रहरू बदलिँदा मात्रै केही हुँदैन, प्रवृत्ति नबदलिएसम्म समस्या यथावत् रहन्छ । त्यसैले समाधान भनेको तानाशाहीमा फर्कनु होइन, गणतन्त्रभित्रै सुधारको क्रान्ति गर्नु हो । संस्थाहरू सुदृढ बनाउनु हो, जनतालाई निर्णयमा सशक्त बनाउनु हो ।

गणतन्त्रको विकल्प राजतन्त्र होइन, विकल्प हो त इमानदार, पारदर्शी र जनउत्तरदायी शासन । इतिहासले देखाइसकेको छ कि राजतन्त्रले निरंकुशता दिएको थियो, गणतन्त्रले कम्तीमा विकल्प दिने हिम्मत त दिएको छ । अब प्रश्न व्यवस्थाको होइन, जिम्मेवारीको हो । बदलिनुपर्ने व्यवस्था होइन, त्यसलाई चलाउने शैली हो । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ । गणतन्त्रपछि केही नै नभएको भन्ने भाष्य निर्माण गर्न खोज्नु अर्को दिक्दार लाग्दो कुरा हो । त्यसैले गणतन्त्रमा देखिएका समस्यामा समाधान गर्दै यो सुन्दर व्यवस्थालाई अझै सुन्दर बनाएर लाग्नुको अर्को विकल्प छैन ।