–सहयोग गर्न निजी विद्यालयलाई आह्वान
–माग पूरा गर्न पहलकदमी गर्ने कांग्रेस महामन्त्रीद्वयको आश्वास
काठमाडौं ।
नेपाल शिक्षक महासंघले ८ दिनपछि शुरू हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।
यो वर्षको कक्षा १२ का परीक्षा वैशाख ११ बाट शुरू हुँदै छ । सरकार वार्ताप्रति सकारात्मक नभएको आरोप लगाउँदै महासंघले कक्षा १२ को परीक्षा हुन नदिने निर्णय गरेको हो । यो निर्णयसँगै करिब ५ लाख विद्यार्थी सहभागी हुने परीक्षा अन्योल भएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि काममा संलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको छ । आन्दोलनलाई सहयोग गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँपालिका र नगरपालिकालाई पनि आग्रह गरेको छ ।
महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी राखेको छ ।
महासंघको चैत २५ बाट आमशैक्षिक हड्तालको आह्वान गरेको थियो । हड्तालका कारण हिजोबाट शुरू भएको भर्ना अभियान प्रभावित भएको छ ।महासंघले आन्दोलनलाई सहयोग गर्न प्याब्सन, एनप्याब्सन र विद्यार्थीलाई आह्वान गरेको छ । माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलनमा शिक्षकको सहभागिता कम भएपछि महासंघले जिल्लामा रहेका सबै शिक्षकलाई काठमाडौं बोलाएको छ । आन्दोलनरत शिक्षकहरूले हिजो मंगलवार नयाँ बानेश्वरमा धर्ना दिएका थिए ।
माइतीघरबाट प्रदर्शनसहित नयाँ बानेश्वर पुगेर सडकमा धर्ना दिएका थिए । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरू सडकमै नै धर्ना दिएका थिए । धर्नाको कारण सो क्षेत्रमा केहीबेर यातायात अवरुद्ध भएको थियो । महासंघले तत्काल वर्षे अधिवेशन वा विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट ऐन जारी गर्नुपर्ने अडान राखेको छ । तर, हालसम्म कुनै पनि माग सम्बोधन भएको छैन । मंगलवार गृह, उपप्रधान तथा अर्थ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग वार्ता भएको थियो । उक्त वार्ता पनि फलदायी नभएको स्रोतको भनाइ छ ।
आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा उपसमितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग जानकारी लिनुभएको थियो । भेटमा शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनमा विद्यालय शिक्षा विधेयक संसद्मा पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले सेवासुविधा र आर्थिक भार पर्ने विषयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र शिक्षकको मर्यादाक्रमलाई कसरी व्यस्थापन गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भइरहेको जानकारी दिनुभयो । महासंघले प्रधानमन्त्रीले शिक्षकको माग पूरा गर्नेभन्दा पनि भाषणमै केन्द्रित भएको आरोप लगाएका थिए । सांसद विश्वकर्माको उपसमितिले विधेयकको १६३ वटा दफामध्ये अहिलेसम्म करिब ९५ दफामा छलफल गरेर निष्कर्षमा पु¥यायाएको छ । उपसमितिले वैशाख २३ भित्र संशोधनसहितको विधेयक पेस गर्नुपर्नेछ ।
महासंघले घोषणा गरेको आम शैक्षिक हडतालअनुरूप माग पूरा नभई शिक्षकहरू विद्यालय नफर्कने अडानमा छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हिजो सामाजिक सञ्जाल फेसबुकमा अपिल जारी गर्दै महासंघबाट निषेध गरिएका काममा संलग्न नहुन आह्वान गर्नुभएको छ । ‘जिल्लाजिल्लामा निरीक्षण, अनुगमनमा गोप्यरूपमा साथीहरू खटिनुभएको छ ।
आन्दोलनमा सबै शिक्षक सहभागी भएर नभएको गोप्य रूपमा अनुगमन गरिएको छ’ –उहाँले लेख्नुभएको छ । उहाँले हालसम्मको आन्दोलनमा शिक्षकको सहभागितालाई प्रशंसायोग्य भन्नुभएको छ । सधैंजसो वार्ता जारी भएको तथा माग पूरा गर्ने विषयमा सरकार उदासीन देखिएको महासंघका सहअध्यक्ष एवं आन्दोलनका संयोजक नानीमैया पराजुलीले नेपाल समाचारपत्रसँग बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शिक्षकको माग पूरा नगरेकोमा सरकारको आलोचना गर्नुभएको छ । मंगलवार शिक्षक आन्दोलनमा सहभागी अगुवा नेतासँग भेट गर्दै महामन्त्रीद्वयले तत्काल माग पूरा गर्न पहलकदमी लिने बताउनुभएको थियो । त्यस्तै नेता एनपी साउदले आन्दोलनरत शिक्षकसँग वार्ता गरेर माग पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया