किताब पुग्यो, विद्यार्थी छैनन्

आजबाट भर्ना अभियान

1.6k
Shares

काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको छ । तर, शिक्षक महासंघको आम शैक्षिक हड्तालको कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

आज मंगलबारबाट देशभर भर्ना अभियान शुरू भएको छ । यो बेला भर्ना अभियानको योजना तय गरी अघि बढ्नुपर्ने अवस्थामा महासंघ आन्दोलनमा उत्रिएपछि विद्यार्थीको हातमा नयाँ किताब पुगेको छैन । जसको कारण शैक्षिक सत्रकै दिन विद्यार्थी भर्ना हुने सम्भावना छैन । पहिलोदिन भर्ना लगत्तै हातहातमा किताब पु¥याउने योजना सरकारको थियो । तर, यो अभियान असफल भएको छ ।

जनक शिक्षाले यो वर्षको शैक्षिक सत्र शुरू हुनु करिब दुईसाताअघि नै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको थियो । केन्द्रले यो वर्ष शैक्षिक सत्र शुरू हुनुअगावै आइतबारसम्म ८० लाख थान किताब बिक्री भएको जनाएको छ । मुगुको दुई स्थानीय तहमा एकदुई दिनभित्र पुग्नेगरी योजना बनाइएको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार देशभर पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो । मुगुको लागि सुर्खेत पुगिसकेको छ । केही दिनमा दुवै स्थानीय तहमा पुगिसक्ने दाबी गनुभयो । उहाँले भन्नुभयो– ‘शैक्षिक सत्र शुरू हुनुअगावै ८० लाख थान पाठ्यपुस्तक बिक्री भइसकेको छ ।’

केन्द्रले यो वर्ष १ करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गरेको छ । गतवर्ष १ करोड ३९ लाख छापेको थियो । जनक शिक्षाले यो वर्ष १ करोड ५६ लाख थान बिक्री गर्ने अपेक्षा राखेको छ । सबै प्रदेश कार्यालयबाट पुस्तक बिक्री हुन थालिसकेको छ । यो शैक्षिक सत्रमा पाठ्यपुस्तक पुगेन भन्ने कुनै समस्या हुँदैन । चैत २९ गतेसम्ममा ९ वटा प्रादेशिक केन्द्रहरूबाट बिक्री शुरू भइसकेको छ । जनक शिक्षाले सूचना जारी गरी कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र शुरू हुनुअगावै छिटो छरितो पाठ्यपुस्तक उठाएर हरेक विद्यालयमा पुग्ने वातावरण बनाउनसमेत केन्द्रले अनुरोध गरेको छ । प्रबन्ध सञ्चालक पौडेलले सबै प्रादेशिक कार्यालयमा आवश्यकमात्रामा पाठ्यपुस्तक मौज्दात रहेको जानकारी दिनुभयो ।

जनक शिक्षाले विराटनगर, जनकपुर,भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल, सुर्खेत र काठमाडाैंस्थित मुख्यालयबाट पाठ्यपुस्तक बिक्री गरिरहेको छ । ‘हामीले २४ घण्टा प्रेस सञ्चालन गरेर पुस्तक छपाइ जारी राखेका छाैं । गतवर्षजस्तै यो वर्ष पनि अभाव हुन दिदैनौं’–प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो । जनक शिक्षाले देशभरका १ हजार २ सय ६७ सूचीकृत बिक्रेताहरूको संगठनात्मक सञ्जाल मार्फत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको जनाएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रकान्त भुसालले यो वर्ष पनि भर्ना अभियानसँगै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने बताउनुभयो । तर विद्यालय बन्द गरेर सबै शिक्षक राजधानी केन्द्रीय आन्दोलनमा सहभागी भएको कारण ढिलो गरीमा पाठ्यपुस्तक पुग्ने भएको छ ।

यसैबीच यो वर्ष पाठ्यपुस्तक पुगे वा नपुगेको विषयमा थप प्रभावकारिताका लागि देशव्यापी अनुगमन गरिने भएको छ । त्यसकालागि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, पुस्तक व्यवसायी संघ र अभिभावक महासंघलगायतका प्रतिनिधि रहनेगरी केन्द्रीय अनुगमन संयन्त्र तयार गरिएको जानकारी दिनुभयो । प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो–आजबाट पाठ्यपुस्तक पुगे वा नपुगेको विषयमा अनुगमन गर्नेछौं ।

सरकारले केन्द्रलाई कक्षा एक, दुई र चारबाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा बिक्री विरण गर्ने जिम्मेवारी दिएको छ । ती तीन वटा कक्षाका पाठ्यपुस्तक उत्पादन गर्ने जिम्मा भने निजी क्षेत्रलाई दिइएको छ । निजी पुस्तक प्रकाशक तथा बिक्रेताले ३ र ५ कक्षाको मात्र पाठ्यपुस्तक छपाइ र बिक्री गर्नेछ ।

जनकलाई ३ करोड घाटा

पाठ्यपुस्तक बिक्री गर्ने तयारी भइरहँदा पाठ्यक्रम विकास केन्द्रले ३ वटा ऐच्छिक विषयको पाठ्यपुस्तक परिवर्तन गरेको छ । केन्द्रको सिफारिसमा शिक्षा सचिव एवं जनक शिक्षाका अध्यक्ष दीपक काफ्लेले पाठ्यपुस्तक परिवर्तन गर्न निर्देशन दिनुभएको हो ।

केन्द्र अनिच्छिुक थियो । सचिवले तयारी भइसकेको पाठ्यपुस्तक परिवर्तन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष प्रस्तव पेस गर्नुभयो मन्त्रीले स्वीकृत गरेर नयाँ छापियो । चालू शैक्षिक सत्रमा निर्णय गरी आगामी शैक्षिक सत्रमा लागू गर्नुपर्ने अवस्थामा सरकारी लहडको कारण ३ वटा ऐच्छिक विषयको करिब ३ लाख थान पाठ्यपुस्तक खेर गएको छ ।

यो वर्ष कक्षा ९ अर्थशास्त्र, ऐच्छिक गणित र कम्प्युटर साइन्सको पाठ्यपुस्तक परिवर्तन भएको हो । स्रोतका अनुसार शैक्षिक सत्र आउनु अघिसम्म चुप लागेर बस्ने अनि छपाइ भइसकेपछि परिवर्तन गर्ने रबैयाका कारण करिब ३ करोड रुपियाँ घाटा भएको दाबी गरिएको छ ।

यो त संस्था डुबाउने खेल भएन र ? सरकार आफैं आफ्नै स्वामित्वको संस्थालाई डुबाउन खोज्दैछ । देशभरका प्रादेशिक कार्यालयमा नबिकेको र परिवर्तन भएका पुस्तक डुंगुर छन्, अहिले फेरि ३ लाख थान खेर गएको छ ।

केन्द्रक प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले ३ वटा ऐच्छिक विषयको पुस्तक परिवर्तन गर्दा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब परिवर्तन भइसकेको छ । फेरिएका किताब पनि पुगिसकेको छ ।