शेयर बजारले घटेर वर्षको बिदाई


काठमाडौँ।

शेयर बजारले वर्ष २०८१ लाई घटेर बिदाई गरेको छ । वर्षको अन्तिम दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।

परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार ३२२ वटा कम्पनीको ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपियाँमा १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। यी दुबै कम्पनी दोस्रो बजारमा सूचीकृत भएयता लगातार सकारात्मक सर्किटमा कारोबार भइरहेका छन् । त्यसैगरी, त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य पनि आइतबार साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यसैगरी, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किट लेभलमा पुगेका छन् ।
कारोबार रकमका आधारमा सिईडिबी होल्डिङ्ग्स अग्रस्थानमा देखिएको छ। कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ४४ करोड ५० लाख र राधी विद्युत कम्पनीको करिब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ वटा उपसमूहमध्ये ४ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ९ उपसमूहमा गिरावट आएको छ। लगानी उपसमूहको परिसूचक १.६८ प्रतिशतले बढेर अग्रता लिएको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहका परिसूचक पनि सामान्य रूपमा बढेका छन्। कारोबारमा सक्रिय व्यापार उपसमूह भने १.४० प्रतिशतले घट्दै सबैभन्दा बढी ओरालो लागेको उपसमूह बनेको छ।