प्रप्रअ आएसँगै शान्त भयो कामपा

गुरागाईंले काम शुरू गरे, भोली ५ हजार कर्मचारीले तलब खाँदै


-स्वकीय सचिव शाहले बोलेको विषय कार्यपालिकाको बैठकमा उठाउने तयारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशन अवज्ञा गर्दै उपमेयर सुनिता डंगोलसहितका वडा अध्यक्ष र सबै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराएको भोलिपल्ट करिब ५ हजार कर्मचारी, शिक्षक र श्रमबैंकमार्फत रोजगारी पाएका कर्मचारीको तलब निकासा गर्ने निर्णय भएको छ ।

कामपा श्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रबार करिब १ अर्ब १५ करोड रुपिँया बराबरको तलब निकासा गर्ने निर्णय गर्नुभएको हो । प्रशासकीय अधिकृत गुरागाईंले आफ्नो पहिलो कर्तव्य शिक्षकको ५ महिना र अन्यको ३ महिनाको तलब खुवाउनु रहेको बताउनुभएको थियो ।

सोही अनुसार तलब निकासा भएको छ । ‘निर्णय भइसक्यो आज आइतबार बिदा परेकोले भोली सोमबार ११ बजेभित्र सबै तलब होल्डरको मोबाइलमा घण्टी बज्नेछ’ –स्रोतले भन्यो । प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले कार्यालयमा हाजिर भए लगत्तै विभागीय प्रमुखसँग सल्लाह लिनुभएको छ । उहाँले उपमेयर सुनिता डंगोल र वडा अध्यक्ष सहितको टिमको सहयोगमा काम शुरू गर्नुभएको छ ।

२१ गतेबाट कार्यालय नआउनु भएका मेयर साहले आफ्नो सचिवालयलाई गुरागार्इंको गतिविधि अध्ययन गर्न विभिन्न सल्लाहकार परिचालन गरिरहनुभएको छ । मेयर साह भोली सोमबारबाट आउने सम्भावना रहेको कर्मचारीको भनाइ छ । मेयर साहका स्वकीय सचिव भूपदेव शाहले अख्तियारको हवाला दिँदै सामाजिक सञ्जालमा भ्रष्टाचार गर्ने अधिकृतलाई हाजिर गराउने कर्मचारीलाई थुन्ने चेतावनी दिनुभएको थियो ।

शाहकै सिकोमा कामु प्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं चड्ने सवारी साधनको ह्विल लक गर्नुभएको थियो । सो विषयमा पाण्डेलाई कारबाही गर्ने तयारी गरिएको बताइएको छ । कानुनमा महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतको नियन्त्रणमा हुने व्यवस्था छ । तर मेयर साहको निर्देशनपछि स्वकीय सचिव शाहले पाण्डेलाई सवारी साधनको ह्विल लक गर्न लगाउनुभएको थियो ।

उच्चस्रोतका अनुसार अख्तियारसँग कुरै नभएको अवस्थामा स्वकीय सचिव शाहले विभागीय प्रमुख र कर्मचारीलाई धम्क्याउन थाल्नुभएको छ । गुरागाईं कार्यालय प्रवेश गरे लगत्तै स्वकीय सचिव शाहले कार्यकारी अधिकृत गुरागाईंलाई साथ दिने सबै जना जेल जान तयार हुनुपर्ने भन्दै अनावश्यक धम्की दिनुभएको थियो । उहाँले उपमेयर सुनिता डंगोलको नामै तोकेर उपप्रमुखलाई समेत चेतवनी दिनुभएको थियो ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिएको विषयमा जानकारी लिन स्वकीय सचिव शाहलाई सम्पर्क गर्दा मोबाइल उठाउनु भएन । उच्चस्रोतका अनुसार चार महिनादेखि कार्यपालिकाको बैठक राख्न नसकेका मेयर साहको स्वकीय सचिव शाहको धम्की र पछिल्लो अनावश्यक गतिविधिको बारेमा समेत महानगरमा छलफल गर्ने तयारी छ । कार्यपालिकाको बैठकबाटै नियुक्ति पाएका स्वकीय सचिव शाहले सबै कर्मचारीको बारेमा औँला उठाएपछि अब के गर्ने ? भन्ने विषयमा छलफल गर्ने तयारी गरिएको कर्मचारीले बताएका छन् ।