‘थाइल्याण्ड भ्रमण सबै कोणबाट सफल’

भारत भ्रमण छिट्टै: प्रधानमन्त्री


काठमाडौं ।

थाइल्याण्डको औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण छिट्टै हुने बताउनुभएको छ ।

शनिबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले उत्साहित हुँदै भन्नुभयो – ‘नेपाल र भारतबीच कहिल्यैपनि तिक्तताको अवस्था नरहेको र दुवै देश एक अर्का प्रति मित्रताको व्यवहार गर्न तयार छ । ’ भारत भ्रमणकालागि आफुले यस अघि समय मिलाउन नसकेको कारण भ्रमण नभएको दावी गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण छिटै हुने बताउनुभयो । उहाँले आफ्नो थाइल्याण्ड भ्रमण सबै कोणबाट सफल भएको जानकारी दिनुभयो ।

शुक्रबार सांझ प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ४५ मिनेट एक्ला एक्लै भेट भएपछि उत्साहित हुनु भएका प्रधानमन्त्री ओलीले भारत नेपालको प्रमुख विकासको साझेदार भएको बताउनुभयो ।
उहांले भन्नुभयो ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै भारत भ्रमण नभएको हो अव त्यसमा कुनै संका गर्नुपर्ने ठाउं छैन । ’

सगरमाथा संवादअघि नै भारत भ्रमण हुनसक्छ भन्ने जिज्ञासामा उहांले भन्नुभयो –हामी अलि व्यस्त नै छौं, सगरमाथा संवादको तयारी गर्नुपर्ने हुन्छ । हाम्रो तर्फबाट के हुनसक्छ हामीले भ्याउँछौं भन्यौं भने हुनपनि सक्छ प्रधानमनत्री ओलीले घुमाउरो पारामा भारत भ्रमणको बारेमा जानकारी गराउनु भयो । मोदीसँगको एक्ला एक्लै भेटमा के कुराकानी भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले दुवै देशले एक अर्कालाई सहयोग र सम्मान गर्ने कुरा भएको स्पष्ट पार्नुभयो ।

‘हामीले एउटा अठोट गरेको छौं नेपाल भारत सम्बन्धलाई अझ व्यापक गर्दै लैजाने र कुनै समस्या आए त्यसलाई मिलेर समाधान गर्ने कुरा भएको छ । ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग भेट फलदायी भएको जिकिर गर्दै मोदी पनि पनि खुसी भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्डबीच उनको संझौताले दुईदेशबीचको व्यापार लगायतका अन्य संभावनाहरु बढेर गएको दावी गर्नु भयो ।