बसाइँ सराइको विकराल समस्या


सुविधायुक्त जीवनशैली अहिले फेसनजस्तै बनेको छ ।

दुर्गम क्षेत्रबाट बसाइँ सराइ गर्ने प्रचलन लामो भए पनि अर्धसुगमबाट सुगम क्षेत्रमा बसाइँ सराइ गर्ने क्रम भने पछिल्लो दुई दशकयताबाट तीव्र बनेको छ । राष्ट्रिय जनगणना २०७८ ले बसाइँ सराइसम्बन्धी पछिल्ला दुई विषयगत प्रतिवेदन सार्वजनिक गरेपछि बसाइँ सराइको अवस्था डरलाग्दो देखाएको छ ।

प्रतिवेदनले उच्च हिमाली तथा पहाडी क्षेत्रको जनसंख्या उल्लेख्यरूपमा घटिरहेको गम्भीर अवस्था देखाएपछि अहिले यस विषयले ठूलो चर्चा पाएको छ । उच्च हिमाली र मध्यपहाडबाट सबैभन्दा बढी बसाइँ सराइ गर्ने प्रचलनले ती क्षेत्र पूरै खाली हुने खतरा बढेको छ ।
हिजो कष्टकर जीवन बिताएका नागरिकहरुलाई ध्यानमा राख्दै, अहिले सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक यातायातको पहुँच पु¥याए पनि नागरिकहरु भने थप सुविधाका लागि सुगम शहरी क्षेत्रमा बसाइँ सराइ गर्ने गरेको पाइन्छ । प्रविधिको विकास र समाजमा आएको विभिन्न खाले परिवर्तनको अनुभव गर्न थालेका नागरिकले सुविधायुक्त जीवनशैलीको खोजीमा सुगम क्षेत्र खोज्न थालेको विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले खासगरी सडक यातायातको पहुँचमा जोड दिएर मध्यपहाडी लोकमार्गजस्ता सडक सञ्जालको विस्तार गरे पनि नागरिकहरुले भने पछिल्लो समय भएको विकासले आफूहरुलाई छुन नसकेको र ढिलाइ भएको टिप्पणी गर्नुले सरकारमाथि थप दबाब सिर्जना गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विगतमा हुने गरेको हिमाल–पहाडबाट तराईतिर झर्ने प्रवृत्ति कायमै रहे तापनि यसपटक साना शहरबाट ठूला शहरमा जानेजस्ता नयाँ अवस्था सिर्जना हुनुले पनि नागरिकले अझै थप सेवा र सुविधा खोजेको प्रस्ट हुन्छ ।

नेपालको कुल जनसंख्यामध्ये २९ प्रतिशत जनता आफ्नो थातथलो छोडेर बसाइँ सराइ गरेको पाइएको छ । ८० लाखभन्दा धेरै त्यस्ता मानिस सुनौलो अवसरका लागि एउटा जिल्लाबाट अर्को जिल्ला वा ठूला शहरतिर बसाइँ सराइ गर्ने गरेको पाइएको छ । नेपालमा तीव्ररुपमा बसाइँ सराइ गर्नुको प्रमुख कारणको रुपमा रोजगारी रहेको छ । ग्रामीण क्षेत्रमा रोजगारीको अवस्था भयानक निराशाजनक रहेको छ । यसका कारण त्यस्ता क्षेत्रमा मानिसहरु अवसरको खोजीमा बसाइँ सराइ गर्न बाध्य भएका प्रतिवेदनहरु पनि सार्वजनिक भएका छन् ।

शिक्षा तथा स्वास्थ्यको अवसर र रोजगारीजस्ता कारणले गर्दा अन्तरजिल्ला बसाइँ सराइको क्रम बढिरहेका बेला संघीय राजधानीका तीन जिल्लामा भने करिब ५० प्रतिशत थप मानिसहरू बसाइँ सरेर थपिएका छन् । सरकारले विकास भनेको भौतिक पूर्वाधार मात्रै भएको ठानेर निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्दा जनजीविकाका सवाल भने ओझेलमा परेको कारण बसाइँ सराइले विकराल रुप लिएको विज्ञहरुले दाबी गरेका छन् ।

नेपालमा आन्तरिक बसाइँ सराइ मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बसाइँ सराइ गर्ने क्रम बढेका कारण नेपालको जनसंख्यासमेत प्रभावित हुन पुगेको छ । त्यसैले यो विकराल समस्याको समाधानका लागि राज्यले बेलैमा सोच्ने बेला आएको छ ।