शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने क्रममा राजावादीहरु जसरी लुटपाट र आगजनीमा उत्रिए त्यसले उनीहरुको सक्कली अनुहार उदाङ्गो पारिदिएको छ ।
राजावादीहरुको यो आन्दोलनमा राजनीतिक संस्कार शून्य भएका, असभ्य, क्षुद्र र आन्दोलनकारीलाई हिंसाका लागि उत्प्रेरित गर्ने व्यक्तिका रुपमा रहेका दुर्गा प्रसाईंलाई कमान्डर बनाउनु गम्भीर भूल थियो । प्रसाईंकै हर्कतका कारण शान्तिपूर्ण हुने विश्वास गरिएको प्रदर्शन रणमैदान हुन पुग्यो ।
एकजना सञ्चारकर्मीसहित दुईजना युवाहरुले अनाहकमा ज्यान गुमाउनुप¥यो । राजनीतिक संस्कार शून्य भएको भीडले यति धेरै आतंक र अराजकता मच्चायो कि मानिसहरु अब राजावादीको समूह भनेर देख्दा पनि आतंकित हुने अवस्था सिर्जना गरिदियो । उनीहरुले तीनकुनेका विभिन्न घरमा आगजनी गरे । त्यही आगजनीमा परी पत्रकार सुरेश रजकले अकाल मृत्युवरण गर्नुप¥यो । यद्यपि आगजनीमा परेका पत्रकारलाई सुरक्षाकर्मीहरुले सयममा नै रेस्क्यु गर्न पहल गरेनन् । यो विषय पनि निन्दनीय छ ।
जेसुकै भए पनि राजावादी समूहद्वारा गरिएको आन्दोलनले नेपालमा विधिको शासन, शान्ति र स्थायित्वलाई गम्भीर चुनौती दिएको छ । संविधानले हरेक नागरिक र समूहलाई आफ्ना विरोधका स्वर शान्तिपूर्णरुपमा उठाउन पाउने अधिकार प्रस्ट दिएको छ तर त्यसका नाममा आतंक मच्चाउनु, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु, आगजनी र लुटपाटमा उत्रनु कुनै पनि सभ्य समाजले स्वीकार्न नसक्ने विषय हो ।
आन्दोलनका क्रममा दुईजना युवाको ज्यान जानु, थुप्रै नागरिक र सुरक्षाकर्मी घाइते हुनु, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण हुनु, औषधि कारखाना निशानामा पर्नु, सञ्चार क्षेत्रमा आक्रमण हुनु, अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनीको प्रयास हुनु तथा सरकारको अधीनमा रहेका संरचनाहरू ध्वस्त पारिनु अत्यन्तै निन्दनीय र गैरकानुनी हर्कत हो । लोकतन्त्रमा विरोधको अधिकार सबैलाई हुन्छ तर त्यही अधिकारको दुरुपयोग गर्दै विधिको शासनलाई ध्वस्त पार्ने, नागरिकको सुरक्षालाई चुनौती दिने र समाजमा अराजकता फैलाउने गतिविधिहरू किमार्थ पनि स्वीकार्य हुँदैनन् ।
राजावादीहरू पुरानो व्यवस्थाप्रति मोह देखाउँदै हिंसात्मकरूपमा राज्यसत्ता प्राप्त गर्न चाहन्छन् भने त्यो लोकतान्त्रिक प्रणालीप्रति ठाडो चुनौती हो । संघीय लोकतान्त्रिक गणतन्त्रमा केही व्यक्तिहरु खराब हुन सक्लान्, त्यस्ता व्यक्तिहरु शासन सञ्चालनसँगै आफैँ पाखा लागेर जानेछन् तर गणतन्त्र नागरिकको दिनचर्या भइसकेकाले यसको विकल्प खोज्न सकिँदैन । यदि नयाँ शासन ल्याउने हो भने पनि आवधिक निर्वाचनमा बहुसंख्यक जनताको मन जितेर निर्वाचनमार्फत नयाँ सत्ता प्राप्त गर्ने बाटोमा जोसुकै पनि लाग्न सक्छ ।
राजावादीहरुलाई पनि यो छुट छ तर अशान्ति मच्चाएर, आगजनी गरेर, लुटपाट मच्चाएर बलजफ्ती शासन सत्ता हत्याउँछु भन्नु दिवास्वप्नबाहेक केही हुनेछैन । आजको एक्काइसौं शताब्दीमा त्यस्ता प्रयास निरर्थक हुनेछन् । सरकारले पनि आवेशमा आएर काम गर्नुहुँदैन । शुक्रबारको घटनामा मारिएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ भने घाइतेको उपचारमा कुनै कसर बाँकी राख्नुहुँदैन ।
सरकारको दायित्व भनेको कानुनको शासनलाई सुनिश्चित गर्नु हो । आन्दोलनका क्रममा सरकारले स्थितिलाई नियन्त्रण गर्न नसक्नु, क्षति रोक्न नसक्नु, सुरक्षा प्रबन्ध कमजोर हुनु सरकारी पक्षको लापारबाही र गम्भीर चिन्ताको विषय हो । सुरक्षाकर्मीहरूले उचित रणनीति तयार पार्न नसक्दा हिंसा फैलिएको देखिन्छ । सरकारले शान्ति भंग गर्ने जो–कोहीमाथि कानुनी कठोरता अपनाउनुपर्छ । अपराधी प्रवृत्तिका व्यक्तिहरूलाई छाडिदिने प्रवृत्ति रहिरह्यो भने भविष्यमा अझ ठूलो हिंसात्मक घटना हुने सम्भावना नकार्न सकिँदैन ।
समाजमा हिंसा फैलाउने, आतंक सिर्जना गर्ने कुनै पनि गतिविधि क्षम्य हुन सक्दैन । कानुनी शासनको उल्लंघन गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, निर्दोष नागरिकको ज्यान लिनेजस्ता हर्कतलाई निषेध गर्न सरकार गम्भीररूपमा लाग्नुपर्छ । नेपालको स्थायित्व, शान्ति र समृद्धिको यात्रालाई कसैले पनि अवरुद्ध गर्न सक्दैन । हिंसात्मक आन्दोलनले मुलुकलाई भड्काउने मात्र हो, समाधान दिन सक्दैन । नेपालका नागरिकले गणतन्त्र रोजिसकेका छन्, लोकतान्त्रिक मूल्य र मान्यता नै हाम्रो मार्गदर्शन हुनुपर्छ । त्यसैले, हिंसात्मक गतिविधिहरूलाई सरकारले पूर्णरुपमा नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था कायम गराउन सक्नुपर्छ र विधिको शासनलाई अझ मजबुत बनाउनुपर्छ ।
प्रतिक्रिया