पत्रकार महासंघद्वारा तीनकुने घटनाको अध्ययनका लागि समिति गठन


काठमाडाैं ।

नेपाल पत्रकार महासङ्घले काठमाडौँको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा पत्रकारको मृत्यु र सञ्चारगृहमा भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।

समितिमा महासङ्घका उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली, र सविन प्रियासन सदस्यको रुपमा नियुक्त भएका छन्।

समितिले घटनाको विस्तृत अध्ययन गर्न, पीडित पत्रकारहरू र प्रत्यक्षदर्शीसँग छलफल गर्न, र पीडितका परिवारसँग जानकारी लिन लागेको छ। यस समितिको उद्देश्य घटना कस्तो गरी भयो र महासङ्घको भविष्यमा कस्तो कदम चाल्नुपर्छ भन्ने बारे प्रतिवेदन तयार गर्नु हो।

शुक्रबारको प्रदर्शनमा पूर्वराजा समर्थित समूहहरूले तीनकुने क्षेत्रमा आगलागी र तोडफोड गर्दै अराजक गतिविधिहरू सञ्चालन गरेका थिए। यस प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ भने कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आक्रमण र तोडफोड भएको थियो।