सुक्खा बन्दरगाहबाट ३२ अर्ब राजस्व सङ्कलन

658
Shares

वीरगञ्ज ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालू आर्थिक वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ । कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड, मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड र फागुनमा चार अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा बढी राजस्व फागुन महिनामा सङ्कलन भएको छ ।

यसैबीच, वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा एक खर्ब नौ अर्ब १६ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि फागुनसम्म ८ महिनामा कार्यालयले लक्ष्यको ७७ दशमलव ८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको छ । भन्सार विभागले उक्त अवधिका लागि वीरगञ्ज भन्सार कार्यालयलाई एक खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।

फागुन महिनामा मात्र वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको ७९ प्रतिशत अर्थात १४ अर्ब ६४ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले फागुन महिनामा १८ अर्ब ५३ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । त्यस्तै, वीरगञ्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ८३ दशमलव ११ प्रतिशत अर्थात ३२ अर्ब २२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सारलाई उक्त अवधिका लागि ३८ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।