काठमाडौं ।
चालू आर्थिक वर्षमा सवा ४ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार माघ मसान्तसम्म ४ लाख ३३ हजार ७०३ नयाँ करदाता थपिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ । नयाँ दर्ता भएका करदातामध्ये व्यावसायिक प्यान ३० दशमलव २ प्रतिशत, कर कट्टी गर्ने निकायका प्यान ० दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान ६९ दशमलव ३ प्रतिशत रहेका छन् ।
त्यस्तै मूल्य अभिवृद्धि करमा (भ्याट) दर्ता भएका करदाताको संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २३ हजार १३२ छन् । करदाता संख्या उल्लेख्य रूपमा बढे पनि सरकारको राजस्व सङ्कलन अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन ।
सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत पहिलो सातासम्म खर्ब ३७ अर्ब रुपियाँ सङ्कलन भएको छ । सोही अवधिमा सरकारको बजेट घाटा १ खर्ब रुपैयाँ नाघिसकेको छ । सरकारले करदाताको संख्या वृद्धि भएसँगै राजस्व सङ्कलनलाई गति दिन विभिन्न सुधार योजनाहरू लागू गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया