अर्जेन्टिना विश्वकपमा छनौट


लन्डन, (एजेन्सी)

अर्जेन्टिनाले आगामी २०२६ मा हुने फिफा विश्वकप फुटबलमा छनौट भएको छ । बुधबार बिहान दक्षिण अमेरिकाको छनौट प्रक्रियाको १४औं चरणमा ब्राजिलसँगको खेलअघि नै अर्जेन्टिनाले आगामी विश्वकपको टिकट सुनिश्चित गरेको हो । उरुग्वे र बोलिभियाबीचको गोलरहित बराबरीपछि अर्जेन्टिना छनौट भएको थियो । योसँगै अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनौट हुने पहिलो देश बन्यो ।

अर्जेन्टिनाले त्यसपछि ब्राजिलविरुद्ध आफ्नो १४औं खेलमा ४–१ को शानदार जित हात पा¥यो । नियमित कप्तान लियोनल मेसी बिना पनि अर्जेन्टिनाले ब्राजिलविरुद्ध फराकिलो गोलअन्तरको जित निकालेको हो । मेसी र ब्राजिलका स्टार नेयमार दुवै चोटका कारण खेलमा उपस्थित थिएनन् । यो खेलमा अर्जेन्टिनाले पहिलो हाफमै ३–१ को अग्रता लिएको थियो । अर्जेन्टिनाले ६ मिनेटमै जुलियन अल्भारेजको गोलबाट खेलको शुरुवात राम्रो गरेका थिए । त्यसपछि इन्जो फर्नान्डेजको गोलपछि अर्जेन्टिनाले २–० को अग्रता बनायो ।

ब्राजिलले २६औं मिनेटमा माथेउस चुन्हाको गोलमार्फत खेलमा फर्कने प्रयास ग¥यो । तर, अर्जेन्टिनाले ३७ औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरको गोलमा ३–१ ले अग्रता लियो । दोस्रो हाफमा गियुलियानो सिमोनीले ७१औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित ४–१ ले सुनिश्चित गरे ।

कोलम्बिया कठिन अवस्थामा
कोलम्बिया आफ्नै घरेलू मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ । कोलम्बियाले पछिल्ला ४ खेलमा कुनैमा पनि जित हासिल गर्न सकेन । पछिल्ला तीन खेलमा पराजित भएकोले टोली कठिन अवस्थामा रहेको छ । त्यसैगरी भेनेजुएलाले आफ्नो घरेलू मैदानमा पेरुलाई १–० ले हराएर ३ अंक जोडेको छ । त्यसैगरी बोलिभियाले उरुग्वेलाई तथा चिलीले इक्वेडरसँग गोलरहित बराबरी खेलेका छन् ।

१४औं चरणपछि अर्जेन्टिना ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ । इक्वेडर २३ अंकका साथ दोस्रो, उरुग्वे २१ अंकका साथ तेस्रो, ब्राजिल २१ अंकका साथ चौथो, पाराग्वे २१ अंकका साथ पाँचौं र कोलम्बिया २० अंकसहित छैटौं स्थानमा रहेको छ । दक्षिण अमेरिकी समूहबाट ६ टोली विश्वकपमा छनौट हुने प्रावधान रहेको छ ।