एपीएफको फाइनल सम्भावना जिवितै


काठमाडौं ।

नेपाल एपीएफ क्लबले पीएम कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलमा पुग्ने झिनो सम्भावनालाई जिवितै राखेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा एपीएफले कोशी प्रदेशलाई हराएर कूल १४ अंक जोड्दै फाइनल संभावनालाई जिवित राखेको हो ।

यदि, आज हुने खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग फराकिलो हार बेहोरेमा एपीएफको फाइनल यात्रा तय हुनेछ । अन्यथा एपीएफको चौथो पटक पीएम कप फाइनल खेल्ने संभावना सकिनेछ ।

आर्मीको १४ अंक रहेको छ भने पुलिस अघिल्लो दिन नै १६ अंकसहित फाइनलमा पुगिसकेको छ । बुधबार सिद्धार्थ रंगशालामा कोशीले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । विजेता टोलीका लागि लोकेश बमले ८४ र कप्तान रोहितकुमार पौडेलले ६१ रन बनाए भने दीपक बोहराले ३६ र सन्दीप जोराले ३० रनको योगदान दिएका थिए ।

कोशीका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले समान तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुईँटेलले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि शकिब हकले सर्वाधिक ६८ रन योगदान गरे । एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान तीन विकेट लिएका थिए ।